दार्चुला– नेपाल र भारतलाई जोड्ने दार्चुलाको महाकाली नगरपालिका–८, असिगडास्थित असिगडा–छारछुम मोटरेबल पुलको संयुक्त रूपमा उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भर्चुअल माध्यममार्फत पुलको उद्घाटन गरेका हुन् ।
भारतको दुईदिने औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएपछि पुलको संयुक्त उद्घाटन गरिएको हो ।

नेपाल–भारत सहयोगअन्तर्गत भारत सरकारको पूर्ण आर्थिक अनुदानमा निर्माण भएको ११० मिटर लामो दुई लेनको पक्की मोटरेबल पुलले नेपालको असिगडा र भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम क्षेत्रलाई जोडेको छ ।
पुल सञ्चालनमा आएसँगै दार्चुलासहित बैतडी, बझाङलगायत सुदूरपश्चिमका सीमावर्ती जिल्लाका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । यसले दुई देशबीचको व्यापार, पारवहन, धार्मिक पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याउने देखिएको छ ।

महाकाली नदीले नेपाल र भारतको सीमा छुट्याए पनि नदी वारिपारिका बासिन्दाबीच पारिवारिक तथा सामाजिक सम्बन्ध पुरानै छ । एउटै समुदायका मानिस दुवैतर्फ बसोबास गर्ने भएकाले पुल निर्माणले आफन्तबीचको आवतजावतलाई सहज बनाएको स्थानीय महाकाली नगरपालिका–८ का गोपालसिंह धामीले बताए ।
‘म नेपालपट्टि बस्छु, मेरा आफन्त छारछुम भारतपट्टि बस्छन् । आफन्तको मृत्यु हुँदा, बिहेवारी तथा अन्य पारिवारिक काममा वारिपारि गर्नुपर्छ । यसअघि लामो बाटो घुमेर जानुपर्ने बाध्यता थियो । अब त्यो समस्या हट्नेछ,’ उनले भने ।
त्यस्तै, दार्चुला सदरमुकाम खलंगाबाट करिब १० किलोमिटर दूरीमा रहेको पुलले सीमापार व्यापार प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीय व्यापारी राजेन्द्रप्रसाद बडूले बताए । उनका अनुसार पुलले दार्चुला मात्र नभई बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लालाई भारतका बजारसँग जोड्न सहयोग पु¥याउनेछ । यसबाट स्थानीय उत्पादनले भारतीय बजारसम्म पहुँच पाउने अपेक्षा गरिएको छ ।
करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा निर्माण भएको पुलको ठेक्का भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले पाएको थियो । पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए ।
यसअघि नै भारत सरकारले उक्त पुललाई औपचारिक स्थल भन्सार मार्गका रूपमा अधिसूचित गरिसकेको छ । सीमा क्षेत्रमा भन्सार तथा सुरक्षा व्यवस्थापनका लागि भारततर्फ आवश्यक पूर्वाधारसमेत तयार पारिएको छ । नेपालतर्फ भने भन्सार तथा सुरक्षा पोस्ट निर्माणको काम भर्खरै सुरु गरिएको छ ।
दुवै देशबीचको आवागमन र व्यापारलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो पुल सञ्चालनमा आएपछि सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तार हुनुका साथै सामाजिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत हुने विश्वास गरिएको छ ।
















