अत्तरिया– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणमा लगातार फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले अन्ततः तेस्रो प्रयासमा च्याम्पियन बन्ने सपना पूरा गरेको छ । शनिबार सम्पन्न एनपीएलको तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जितेको हो । यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिमका लागि यसपटकको उपाधि यात्रा निकै विशेष रह्यो ।
फाइनलअघि सुदूरपश्चिमभन्दा लुम्बिनी तुलनात्मक रूपमा बलियो देखिएको थियो । प्रतियोगिताभर सुदूरपश्चिमको ब्याटिङमा निरन्तरता देखिएको थिएन भने लुम्बिनी ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै आएको थियो । तर, फाइनलमा भने सुदूरपश्चिमको ब्याटिङ एकाएक चम्कियो र लुम्बिनीविरुद्ध ऐतिहासिक जित निकाल्न सफल भयो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा ग¥यो । टोलीले ३९ बल बाँकी छँदै १५८ रन बनाउँदै १० विकेटको शानदार जित निकाल्यो । सुदूरपश्चिमको ऐतिहासिक जितका नायक बने जर्ज मुन्से । लिग चरणका खेल सकिएपछि टोलीमा भित्रिएका स्कटल्यान्डका ३३ वर्षीय मुन्सेले फाइनलमा विस्फोटक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए ।
सुदूरपश्चिमले विदेशी खेलाडी ब्रान्डन म्याकमुलेन स्वदेश फर्किएपछि उनको स्थानमा मुन्सेलाई टोलीमा समावेश गरेको थियो । फाइनलअघि जारी संस्करणमा दुई खेल खेलेका मुन्सेले शून्य र ८ रन मात्रै बनाएका थिए । तर, उपाधि भिडन्तमा उनले आफ्नो क्षमता प्रमाणित गर्दै ५४ बलमा अविजित १२५ रन बनाए ।
उनको यो इनिङ एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत रनसमेत बन्यो । मुन्सेको पारीमा ८ चौका र १२ छक्का समावेश थिए । उनलाई साथ दिएका विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए । दुवैले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै सुदूरपश्चिमलाई ऐतिहासिक उपाधि दिलाए ।
एनपीएलको पहिलो संस्करण सन् २०२४ मा जनकपुर बोल्ट्ससँग फाइनल खेलेको सुदूरपश्चिम पाँच विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । दोस्रो संस्करण सन् २०२५ मा पनि टोली फाइनलसम्म पुगेको थियो । तर, उपाधि भिडन्तमा लुम्बिनी लायन्ससँग ८५ रनमै समेटिएपछि सुदूरपश्चिम लगातार दोस्रोपटक उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।
दुईपटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रो संस्करणमा भने अघिल्ला दुवै संस्करणको निराशालाई जितमा बदल्न सफल भयो । यो जितसँगै सुदूरपश्चिम रोयल्स एनपीएलका तीनवटै संस्करणको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । त्यस्तै, लगातार तीन संस्करण प्लेअफमा स्थान बनाउने एकमात्र टोलीका रूपमा समेत सुदूरपश्चिमले आफ्नो निरन्तरता कायम राखेको छ ।
यस्तो थियो तेस्रो संस्करणको यात्रा

तेस्रो संस्करणमा सुदूरपश्चिमको सुरुवात भने सुखद रहेन । टोलीले लिग चरणको पहिलो खेलमै लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको सुदूरपश्चिम तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ ओभरको खेलमा ३५ रनले पराजित भयो ।
सुरुवाती तीन खेलमध्ये दुईमा हार बेहोरेको टोलीले त्यसपछि भने लय समात्यो । सुदूरपश्चिमले लगातार चार खेल जित्दै आफ्नो बलियो उपस्थिति देखायो । टोलीले चितवन राइनोजलाई ५ विकेट, कर्णाली याक्सलाई ३९ रन, जनकपुर बोल्ट्सलाई २७ रन र काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको थियो ।
लिग चरणका सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमलाई फाइनल प्रवेशका लागि अर्को अवसरको प्रतीक्षा गर्नुपरेको थियो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै टोलीले लगातार तेस्रो संस्करणमा फाइनल पुग्ने आफ्नो यात्रा कायम राख्यो ।
अन्ततः फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि जित्यो । सुरुवाती दुई हारबाट सुरु भएको टोलीको यात्रा उपाधिसँगै सुखद रूपमा टुंगियो ।
कसको प्रदर्शन कस्तो ?
एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सको बलिङ पक्ष तुलनात्मक रूपमा बलियो देखियो भने ब्याटिङमा भने निरन्तरता अभाव रह्यो । बलरहरूको प्रभावकारी प्रदर्शनले टोलीलाई धेरै खेलमा जितको नजिक पु¥याएको थियो ।
बलिङतर्फ स्कट कुगेलेइनले सर्वाधिक १५ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । त्यस्तै अनिल खरेलले १०, हेमन्त धामीले ८ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र थारिन्दु रत्नायकेले समान ७ विकेट लिए ।
ब्याटिङतर्फ कप्तान दीपेन्द्रसिंह ऐरी टोलीका सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ९ खेलमा २१७ रन जोडे । त्यस्तै जर्ज मुन्सेले ३ खेलमा १३३ रन बनाए । उनको सर्वाधिक योगदान भने फाइनलमा आएको अविजित १२५ रनको विस्फोटक इनिङ रह्यो । यसैगरी इशान पाण्डेले १३२, थारिन्दु रत्नायकेले १२९, ब्रान्डन म्याकमुलेनले १२४ र विनोद भण्डारीले ११८ रन बनाए ।
टोलीका मुख्य ब्याटरहरूले अपेक्षाअनुसार निरन्तर प्रदर्शन गर्न नसक्दा सुदूरपश्चिमले लिग चरणका केही खेलमा कम योगफलमै चित्त बुझाउनुपरेको थियो । विशेषगरी मध्यक्रमको ब्याटिङमा कमजोरी देखिएको थियो । तर, बलरहरूले विपक्षी टोलीलाई कम योगफलमा रोक्दै टोलीको जितको आधार तयार गरिरहेका थिए ।
फाइनलमा भने मुन्सेको अविश्वसनीय शतक र विनोद भण्डारीको संयमित ब्याटिङले टोलीको पुरानो कमजोरीलाई बिर्साइदियो । यसरी सुदूरपश्चिमको तेस्रो संस्करणको उपाधि यात्रामा बलिङ मुख्य शक्ति बन्यो भने फाइनलमा ब्याटिङको उत्कृष्ट प्रदर्शन निर्णायक साबित भयो । लगातार दुई संस्करण उपविजेतामा सीमित भएको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै आफ्नो प्रतीक्षाको अन्त्य मात्र गरेको छैन, एनपीएलमा आफूलाई बलियो टोलीका रूपमा समेत स्थापित गरेको छ ।



















