डडेल्धुरा — नेपाली कांग्रेसका नेता एवं खेलकुद विकास समिति डडेल्धुराका पूर्वसचिव नैनसिंह महरले खेलकुदलाई राष्ट्र निर्माण, आर्थिक समृद्धि र युवा सशक्तीकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
भागेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले खेलकुदलाई केवल मनोरञ्जन र पदक प्राप्तिमा सीमित नराखी राष्ट्रिय विकास र आर्थिक गतिविधिसँग जोड्नुपर्ने धारणा राखे ।


खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, सामूहिक भावना र प्रतिस्पर्धात्मक सोचको विकास गर्ने उनले बताए । स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माणमा खेलकुदको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
विश्व खेलकुद अर्थतन्त्र बहुआयामिक क्षेत्रका रूपमा विस्तार भइरहेको उल्लेख गर्दै महरले नेपालले पनि खेलकुदलाई पर्यटन, रोजगारी, उद्यमशीलता, पूर्वाधार विकास र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने बताए । यसका लागि राष्ट्रिय खेलकुद विश्वविद्यालय स्थापना गरी खेल विज्ञान, अनुसन्धान, दक्ष प्रशिक्षक उत्पादन तथा खेल व्यवस्थापनलाई संस्थागत गर्न आवश्यक रहेको उनले औँल्याए ।
उनले स्थानीय तहदेखि नै व्यवस्थित खेल पूर्वाधार निर्माण, नियमित प्रशिक्षण र प्रतिभाशाली खेलाडीलाई पर्याप्त अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए । डडेल्धुरासहित सुदूरपश्चिममा खेलकुद तथा खेल पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताले खेल प्रतिभा पहिचान गर्नुका साथै पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताए ।
‘खेलकुदमा लगानी भनेको केवल खेलाडी उत्पादनमा लगानी होइन, यो स्वस्थ समाज, सक्षम युवा, अनुशासित नागरिक र समृद्ध राष्ट्र निर्माणमा गरिएको लगानी हो’ महरले भने ।
खेलकुदसँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै उनले भलिबल प्रतियोगितासँगै आयोजना गरिने सांस्कृतिक कार्यक्रमले स्थानीय कला र संस्कृतिको पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

















