काठमाडाैँ – कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशीलाई प्रबोधिनी एकादशी वा ठुली एकादशी भनिन्छ । ठूली एकादशीमा घरआँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गरिन्छ । तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता, रातो, पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ ।

यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्दछन् । व्रत बस्नाले पापको नाश, पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञ गरे बराबरको फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।

आषाढ शुक्ल एकादशी (हरिशयनी)का दिनबाट चार महिनाको लागि सुतेका विष्णु भगवान् आजकै दिन अर्थात कार्तिक शुक्ल एकादशी(हरिबोधनी)का दिन योगनिद्राबाट जाग्छन् भन्ने विश्वास रहेको छ । भगवान् विष्णु योग निन्द्राबाट उठेको दिन भएकोले आजको दिनलाई देवउठनी पनि भनिन्छ । विष्णु क्षीर सागरमा सुतेका बेला कुनै माङ्गलिक कार्य गर्नुहुँदैन भन्ने मान्यताको आधारमा चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश तथा अन्य शुभ कार्यहरू गरिँदैन । आजको दिन पछि भने माङ्गलिक कार्यको लागि शुभ मुहूर्त रहेको पाइन्छ ।


















