अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ बास्कोटामा आयोजित तेस्रो जेवाईसी नगरस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ज्वालादेवी युवा क्लबको आयोजनामा यही कार्तिक २७ गतेदेखी सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।
प्रतियोगिता अन्तरगत पुरुष क्रिकेट र वडास्तरिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएका थिए । जसमा नगरस्तरिय पुरुष क्रिकेट तर्फ प्रतियोगिता तर्फ गोदावरी नगरपालिका– १० मा रहेको न्यू सिताराम युवा क्लबले उपाधी जितेको छ । सोमबार नै भएको फाईनल खेलमा आयोजक ज्वालादेवी युवा क्लबलाई पराजित गर्दै न्यू सिताराम युवा क्लबले उपाधी जितेको हो । नगरस्तरिय पुरुष क्रिकेट प्रतियोगितामा नगरभित्रका १० टिमको सहभागिता रहेको थियो ।


उपाधी जितेसँगै न्यू सिताराम युवा क्लबले नगद रु. ४१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजक टिमले नगद रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै वडास्तरिय महिला भलिबल प्रतियोगिताको उपाधी लक्ष्मी माबिले हात पारेको छ । फाईनलमा आयोजकलाई पराजित गर्दै लक्ष्मी माविले महिला भलिबलको उपाधी जितेको हो । वडास्तरिय महिला भलिबल प्रतियोगितामा वडाभित्रका ६ वटा टिमले सहभागिता जनाएका थिए । उपाधी जितेसँगै लक्ष्मी माविले नगद रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजकले नगद रु. ११ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीहरुलाई सोमबार एक औपचारीक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको थियो । आयोजक ज्वाला देवी युवा क्लबका अध्यक्ष महेश्वर भट्टको सभापतित्वमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश पन्त रहेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिका– ३ का वडाध्यक्ष तेजराज अवस्थी, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल, वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु), बास्कोटा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष कृत शाही लगायत वडा नं. ४ का सबै वडासदस्य एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै स्थानियहरुको सहभागिता रहेको थियो ।




















