धनगढी– छिमेकी मुलुक भारतको बनगवाँ मण्डीमा भएको आगलागीका बेला धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको उद्धार सहयोगको भारतीय व्यापारीहरूले प्रशंसा गरेका छन् । विपद्का बेला मानवीय सेवालाई प्राथमिकता दिएको भन्दै भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता रवि गुप्ता सहित बनगवाँका व्यापारीहरुले धनगढीका नगरप्रमुख गोपाल हमाललाई धन्यवाद दिएका छन् ।
गुप्ताले उपमहानगरपालिकाको कार्यालयमै पुगेर नगरप्रमुख हमाललाई धन्यवादपत्र हस्तान्तरण गरेका हुन् । उनले भारत–नेपाल सीमाक्षेत्रका व्यापारी तथा नागरिकका तर्फबाट हमालप्रति कृतज्ञता व्यक्त गरेका थिए । धन्यवादपत्र हस्तान्तरणका क्रममा वरिष्ठ समाजसेवी तथा पूर्वसभासद् विवेक गुप्ता र यातायात व्यवसायी एवं समाजसेवी देवराज गर्गको समेत सहभागिता रहेको थियो ।


भारतको उत्तर प्रदेशस्थित पलिया क्षेत्रको बनगवाँ मण्डीमा दीपावलीका दिन भीषण आगलागी भएको थियो । तत्काल सहयोग आवश्यक भएपछि गुप्ताले नगरप्रमुख हमाललाई फोन गरी उद्धारका लागि आग्रह गरेका थिए । त्यसपछि धनगढी उपमहानगरपालिकाले दमकल, जेसीबी मेसिन र नगर प्रहरीको टोली घटनास्थलमा पठाएको थियो ।
गुप्ताका अनुसार आगलागीबाट ४० देखि ५० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् । व्यवसायीहरूले करिब ३० देखि ४० करोड भारतीय रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको छ । नेपाली टोली समयमै घटनास्थलमा पुगेर परिचालित भएकै कारण थप सयौँ पसललाई आगोको चपेटाबाट बचाउन सम्भव भएको उनले बताए ।
आगलागीपछि नेपालबाट प्राप्त सहयोगले सीमावर्ती क्षेत्रका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको गुप्ताको भनाइ थियो । उनले विपद्को समयमा राजनीतिक र भौगोलिक सीमाले मानवीय सहयोगलाई रोक्न नहुने उल्लेख गर्दै धनगढी उपमहानगरपालिका तथा नेपाली प्रशासनको भूमिकाको प्रशंसा गरे ।
यसैबीच, गुप्ताले किनमेलका लागि भारत जाने नेपाली नागरिक तथा ग्राहकलाई अनावश्यक झन्झट नदिन नगरप्रमुख हमालमार्फत नेपाली प्रशासनसँग आग्रहसमेत गरेका छन् । बनगवाँमा भएको आगलागीमा धनगढीबाट पुगेको सहयोगले नेपाल र भारतबीचको सीमावर्ती सम्बन्ध केवल व्यापारमा मात्र सीमित नभई आपत–विपत्मा एकअर्कालाई साथ दिने मानवीय सहकार्यमा समेत आधारित रहेको सन्देश दिएको छ ।




















