बझाङ – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा भएको अटोरिक्सा दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको हो । टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९ सय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, उनका ७ वर्षीय छोरा रियास, २ वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको हो । एउटै परिवारका चार जनाको ज्यान गएपछि परिवारसँगै सिंगो गाउँ शोकमा डुबेको छ । श्रीमती, छोरा, छोरी र भतिजी गुमाएका दीपक महराको परिवारमा ठूलो बज्रपात परेको वडाध्यक्ष प्रेम ओखेडाले बताए ।

उनका अनुसार मृतकहरू दसैं–तिहार मनाएर डडेल्धुरा फर्किने क्रममा थिए । स्थायी शिक्षक रहेका दीपक डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए । उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा अध्ययनरत थिए । गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय तोलीचौरमा सरुवा भएको थियो ।
दुर्घटनामा परेको अटोरिक्साका चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले जानकारी दिए । अटोरिक्सामा सवार १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ ।




















