खाेज्नुहाेस

कृष्णपुर नगरस्तरीय यू–१८ फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित प्रथम कृष्णपुर नगरस्तरीय यू–१८ छात्र फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । शुक्रबार प्रतियोगिताको आयोजक कृष्णपुर नगरस्तरीय बाल सञ्जालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

बाल सञ्जालले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार प्रतियोगितामा कुल २ लाख ५३ हजार ६११ रुपैयाँ आम्दानी भएको आयोकजले जनाएको छ । सञ्जालका अध्यक्ष अशोक धामीका अनुसार प्रतियोगिता सञ्चालनका लागि कृष्णपुर नगरपालिकाबाट २ लाख, टिम दर्ताबाट ४२ हजार, व्यक्तिगत तथा समाजसेवीहरुबाट ६ हजार ६११ र अन्य आम्दानीमा –पोटास शुल्क) ५ हजार आम्दानी रहेको थियो । त्यसबाहेक कञ्चनपुर जिल्ला फुटबल संघबाट २ थान फुटबल र अन्य संघसंस्थाहरुसँग ब्यानरको सम्झौता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

attariya hospital

प्रतियोगितामा २ लाख ५३ हजार ६११ रुपैया आम्दानी हुँदा खर्च भने बढी रहेको प्रतिवेदनले देखाएको छ । आयोजकले प्रस्तुत गरेको प्रतिवेदन अनुसार प्रतियोगिता सञ्चालनका क्रममा ३ लाख १ हजार ४४० रुपैयाँ खर्च भएको छ ।

navjiwan hospital

प्रतियोगिता सञ्चालनका क्रममा विभिन्न १५ वटा शीर्षकमा खर्च भएको विवरण सार्वजनिक गरिएको छ । जसअनुसार प्रथम, द्वितीय तथा तृतीय पुरस्कारमा ५५ हजार रुपैयाँ, विधागत पुरस्कार तथा उपहारमा १२ हजार रुपैयाँ र ट्रफी, मेडल तथा प्रमाणपत्रमा ३६ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।
त्यस्तै, खेलकुद सामग्री खरिद तथा व्यवस्थापनमा ६ हजार ५ सय रुपैयाँ, रेफ्री तथा खेल सञ्चालन व्यवस्थापनमा ४५ हजार रुपैयाँ, मैदान सरसफाइ तथा मर्मतसम्भारमा ५ हजार रुपैयाँ, ब्यानर, पोस्टर तथा प्रचारप्रसारमा १३ हजार ५ सय रुपैयाँ र उद्घाटन तथा समापन समारोह व्यवस्थापनमा २१ हजार ४४० रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी खाना तथा नास्तामा ३० हजार, स्वयंसेवक तथा व्यवस्थापनमा १६ हजार ५ सय, खानेपानी तथा प्राथमिक उपचारमा ५ हजार, सुरक्षा तथा अन्य व्यवस्थापनमा १० हजार, टेन्ट तथा साउन्डमा ३० हजार, यातायात तथा ढुवानीमा ५ हजार र अन्य विविध खर्च शीर्षकमा १० हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार प्रतियोगिता सञ्चालनका क्रममा ४७ हजार ८२९ रुपैयाँ खर्च कटाइ बाँकी वा तिर्नुपर्ने रकम देखिएको छ । त्यसमध्ये १३ हजार ५ सय रुपैयाँ साथी संस्थाले दिने र ३४ हजार ३२९ रुपैयाँ अपुग रहेको जनाइएको छ ।

सञ्जालका अध्यक्ष धामीले प्रतियोगिताको प्रत्येक आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले आम्दानी र खर्चको विस्तृत विवरण सार्वजनिक गरेको जनाएका छन् । प्रतिवेदनमा माथिका शीर्षकमा वास्तविक रूपमा भएको खर्च मात्र समावेश गरिएको र एउटै खर्च दोहोरो गणना नगरिएको समेत उल्लेख छ ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग उपलब्ध गराई अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष धामीले सञ्जालको तर्फबाट कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रौपती रानाप्रति विशेष आभार व्यक्त गरे । त्यस्तै अन्य सहयोगीहरुप्रति पनि उनले आभार व्यक्त गरे ।
बालबालिकाको नेतृत्व विकास, खेलकुद प्रवद्र्धन, सामाजिक एकता तथा दुव्र्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्नु मात्र आफ्नो जिम्मेवारी नभई सहयोग गर्ने सबैप्रति जवाफदेही हुनु पनि संस्थाको दायित्व भएको उल्लेख गर्दै अध्यक्ष धामीले हिसाब सार्वजनिक गर्नु बाध्यता नभई संस्थागत संस्कार र नैतिक जिम्मेवारी भएको बताए । आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सामूहिक सहकार्यलाई आत्मसात् गर्दै खेलकुदको विकास तथा बालअधिकार संरक्षणका क्षेत्रमा निरन्तर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।