दार्चुला – दार्चुलामा शुक्रबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । महाकाली नगरपालिका–९ दत्तुस्थित सरकार खेल मैदानमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान दत्तुस्थित सरकार खेलमैदानमा जीप घुमाउने क्रममा दुर्घटनामा परेको हो । महाकाली नगरपालिका–६ का ३२ वर्षीय गणेश भाटले चलाएको सुदूरपश्चिम प्रदेश ०४–००१ ज ०१२२ नम्बरको जीप खेलमैदानमा पुगेर घुमाउने क्रममा अचानक पल्टिएको प्रहरीले जनाएको छ ।

जीपमा सवार नौ जनामध्ये पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था मध्यम र चारजनाको अवस्था सामान्य रहेको छ । जीपमा रहेका अन्य चारजना भने सकुशल रहेको प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले बताए ।
प्रहरीका अनुसार महाकाली नगरपालिका–४ का १७ वर्षीया अनु लुहार, १७ वर्षीया अस्मिता ओड, १५ वर्षीया अनुषा चुनारा, २१ वर्षीया सङ्गीता चुनारा र २५ वर्षीया भुमा चुनारा रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । दुर्घटनास्थलमा प्रहरी चौकी दत्तु र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














