अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–११ भोटेडाँडामा दशैं तथा शुभ दीपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
भोटेडाँडा युवा समूहको आयोजनामा सम्पन्न प्रतियोगितामा गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२ का गरी ६ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा गोठान युवा क्लब प्रथम भएको छ भने आयोजक भोटेडाँडा युवा क्लब दोस्रो भएको छ।

प्रतियोगितामा प्रथम भएको गोठान युवा क्लबले ११ हजार रुपैयाँ र दोस्रो भएको भोटेडाँडा युवा क्लबले ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिता सम्पन्न गर्न गोदावरी नगरपालिका–२ अत्तरियामा बसोबास गर्दै हाल युरोपको माल्टामा रहेका दिनेश नेपाली र गोदावरी नगरपालिका–११ का युवा व्यवसायी हेमन्तराज गिरीले मुख्य आर्थिक सहयोग गरेका थिए।

सहयोगीमध्येका दिनेश नेपाली यसअघि गोदावरी नगरपालिका–११ मा रहेर दलित विकास सेवा केन्द्रमार्फत सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्नुका साथै सहकारी तथा कृषि विकासका गतिविधिमा समेत संलग्न थिए । हाल माल्टामा रहेका उनी नेपाली सुदूरपश्चिम समाज माल्टाका कोषाध्यक्ष समेत हुन ।
प्रतियोगिताको समापन कार्यक्रम गोदावरी नगरपालिका–११ का पूर्ववडाध्यक्ष शिवबहादुर विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
समापन कार्यक्रममा बोल्दै पूर्ववडाध्यक्ष विकले आफ्नो कार्यकालमा युवालाई विभिन्न कुलत तथा विसङ्गतिबाट जोगाउँदै खेलकुदमा जोड्न वडामा तीनवटा खेलमैदान निर्माण गरेको स्मरण गरे । तर, पछिल्लो समय ती खेलमैदान जीर्ण अवस्थामा पुग्दा पनि स्थानीय सरकारले चासो नदेखाएको उनकाे गुनासो थियो।
आफू पदमा रहँदा र नरहँदा पनि युवाको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै उनले खेलकुद सामग्री तथा युवाका अन्य गतिविधिका लागि विभिन्न दातृ निकायसँग समन्वय गरेर सहयोग जुटाउन आफू सधैँ तयार रहेको बताए ।
प्रतियोगिता सम्पन्न गर्न पूर्ववडाध्यक्ष विकले समेत समन्वयकारी भूमिका निर्वाह गरेकाे आयोजकले जनाएको छ।
















