नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः पूजा पनि गर्दैछन्।

नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरू गराएको इतिहास छ।

लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरू भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो। लिच्छविकालअघि शक संवत् प्रचलनमा रहेको इतिहासमा उल्लेख छ। नेपालको नामबाट नामकरण गरिएको यस संवतलाई राष्ट्रिय मान्यता दिलाउन विसं २००७ मा प्रजातन्त्र स्थापना भएदेखि नै अभियान सञ्चालन हुँदै आएको छ।



















