खाेज्नुहाेस

तिहारअन्तर्गत आज गाई पूजा गरिँदै

Image

अत्तरिया – नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत सोमबार आज गाई पूजा गरिँदैछ । कार्तिक कृष्ण औँसीका दिन पर्ने गाई पूजामा हिन्दू धर्मावलम्बीहरूले गाईलाई माता, लक्ष्मी र समृद्धिको प्रतीकका रूपमा मानेर श्रद्धापूर्वक पूजा आराधना गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार गाईलाई पवित्र जनावरका रूपमा लिइन्छ । गाईको शरीरमा देवीदेवताको वास हुने विश्वासका साथ यस दिन गाईलाई नुहाइदिने, निधारमा टीका लगाइदिने, गलामा माला पहि¥याउने र मिठा परिकार तथा हरियो घाँस खुवाएर पूजा गर्ने गरिन्छ । घरमा गाई पाल्नेहरूले आफ्नै गाईको पूजा गर्ने र गाई नपाल्नेहरूले नजिकै रहेका गाईको पूजा गरी धार्मिक परम्परा पूरा गर्ने चलन छ ।

हिन्दू धर्मशास्त्रमा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट प्राप्त हुने दूध, दही, घिउ, गोबर र गहुँतलाई धार्मिक संस्कार तथा विभिन्न पूजाआजामा प्रयोग गरिने भएकाले यसको विशेष महत्व रहेको छ । धार्मिक विश्वासअनुसार गाईको पूजा गर्दा सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याण प्राप्त हुने मान्यता छ ।

attariya hospital
navjiwan hospital

गाई पूजा केवल धार्मिक आस्थामा सीमित पर्व नभएर नेपाली समाजको कृषि सभ्यता, ग्रामीण जीवनशैली र प्रकृतिप्रतिको सम्मानसँग पनि जोडिएको छ । परम्परागत नेपाली समाजमा गाईलाई घरपरिवारको महत्वपूर्ण सम्पत्तिका रूपमा लिइन्थ्यो । गाईको दूधबाट प्राप्त हुने पोषण, गोबरको मलका रूपमा प्रयोग र कृषि उत्पादनमा यसको योगदानले ग्रामीण अर्थतन्त्रलाई लामो समयदेखि सहयोग पु¥याउँदै आएको छ ।

गाई पूजासँग विभिन्न धार्मिक विश्वास र परम्पराहरू पनि जोडिएका छन् । हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार मृत्युपछि वैतरणी नदी पार गर्नुपर्ने धार्मिक मान्यता छ । गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सकिने विश्वासका कारण पनि गाईलाई विशेष सम्मान गरिन्छ ।

यसै विश्वासअनुसार कतिपय स्थानमा गाई पूजाका दिन गाईको पुच्छरमा रक्षाबन्धनका दिन हातमा बाँधिएको डोरो बाँध्ने परम्परा छ । यसो गर्दा मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ । यमपञ्चकका पाँच दिनमा फरक–फरक जीवजन्तु तथा प्राकृतिक पक्षलाई सम्मान गर्ने चलन रहेको छ ।