खाेज्नुहाेस

पीडामा छन् गाई : तिहारमा पूजा, सडकमा बेवास्ता

Image

अत्तरिया – आज हिन्दु धर्मावलम्बीहरूले तिहारअन्तर्गत गाई पूजा गर्दैछन् । गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मानेर पूजा गर्ने, माला लगाउने र मिठा परिकार खुवाएर सम्मान गर्ने धार्मिक परम्परा छ । तर, यही समाजमा दूध दिन छाडेपछि सडकमा छाडिएका गाईगोरुको अवस्था भने निकै दयनीय छ ।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका सडक तथा राजमार्गमा छाडा गाईगोरु जताततै  देखिन्छ । विशेषगरी पूर्वपश्चिम राजमार्गको चिसापानी देखि गड्डाचाैकी सम्म सडक किनारमा गाईगोरुका बथान भेटिने गरेका छन् । कतिपय गाईगोरु सडकको बीचमै बस्ने र रातिको समयमा राजमार्गमा ओहोरदोहोर गर्ने गर्दा सवारी चालक तथा यात्रु जोखिममा पर्ने गरेका छन् ।

attariya hospital

गाईले दूध दिउन्जेल घरमा पाल्ने तर दूध दिन छाडेपछि सडकमा छाडिदिने प्रवृत्तिले यो समस्या झन् विकराल बनेको छ । त्यस्तै, आधुनिक कृषि प्रणालीका कारण गोरुको प्रयोग घट्दै जानु र पशुपालनप्रतिको जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले पनि छाडा चौपायाको संख्या बढाएको छ ।

सडकमा पुगेका  चौपायाले पर्याप्त आहारा र पानी पाउन सकेका छैनन् । कतिपय भोकभोकै मर्ने गरेका छन् भने कतिपय सवारीसाधनको ठक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेका छन् ।

छाडा चौपाया सडक दुर्घटनाको प्रमुख चुनौतीमध्ये एक बनेका छन् । विशेषगरी रातिको समयमा सडकमा बस्ने तथा अचानक सवारीसाधनको अगाडि आउने गाईगोरुका कारण दुर्घटना हुने गरेका छन् । यस्ता दुर्घटनामा मानिसले ज्यान गुमाउनुका साथै स्वयं चौपायासमेत मर्ने गरेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा कैलाली र कञ्चनपुरमा छाडा चौपायाका कारण भएका सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

navjiwan hospital

करोडौँ खर्च, तर समस्या उस्तै

छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहहरूले विभिन्न समयमा गौशाला तथा कान्जी हाउस निर्माण गरेका छन् । बजेट पनि विनियोजन हुँदै आएको छ । तर, ती संरचनाको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापन हुन नसक्दा समस्या समाधान हुन सकेको छैन ।

पछिल्ला केही रिपाेर्टहरू अनुसार  कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापनका नाममा स्थानीय तथा प्रदेश सरकारले करिब १५ करोड रुपैयाँ खर्च गरिसकेका छन् । दुवै जिल्लामा निर्माण गरिएका ७८ वटा गौशालामध्ये १८ वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका ६० मध्ये पनि ३२ वटामा थोरै संख्यामा मात्र चौपाया राखिएका छन् ।

कैलालीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको २०८१ सालको अध्ययनले जिल्लामा मात्रै करिब दुई हजार ९७० छाडा चौपाया रहेको देखाएको थियो ।

जिम्मेवारी कसको ?

छाडा चौपायाको समस्या समाधानका लागि स्थानीय सरकार, पशुपालक किसान र समुदाय सबैको जिम्मेवारी उत्तिकै महत्वपूर्ण छ । दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई सडकमा छाड्ने व्यक्तिलाई जिम्मेवार बनाउने, पशु पहिचान तथा अभिलेख राख्ने र गौशालाको प्रभावकारी सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

गौशाला निर्माण गरेर मात्रै समस्या समाधान हुँदैन । त्यहाँ राखिएका चौपायालाई नियमित आहारा, पानी, उपचार र उचित हेरचाहको व्यवस्था हुनुपर्छ । साथै गौशालालाई आत्मनिर्भर बनाउन गोबरबाट जैविक मल उत्पादन, दूध उत्पादन र अन्य उपयोगी गतिविधि सञ्चालन गर्न सकिने सुझाव पनि विज्ञहरूले दिएका छन् । स्थानीय सरकारले बजेट खर्च र संरचना निर्माणमा मात्रै सीमित नभई छाडा चौपाया सडकमा पुग्न नदिने प्रभावकारी नीति र अनुगमन व्यवस्था गर्न आवश्यक छ । पशु छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कानुनी व्यवस्थाको कार्यान्वयन पनि उत्तिकै जरुरी छ ।

आज गाईको पूजा गरेर धार्मिक आस्था प्रकट गरिरहँदा सडकमा भोक, प्यास र दुर्घटनाको जोखिममा रहेका गाईगोरुको अवस्थालाई पनि सम्झिन आवश्यक छ । गाईलाई पूजा गर्ने परम्परा र गाईको संरक्षण गर्ने व्यवहारबीचको दूरी घटाउन नसकिएसम्म हरेक वर्षको गाई पूजाले मात्रै उनीहरूको पीडा कम गर्न सक्ने छैन ।