काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ। शनिबार भएको खेलमा जित निकाल्दै काठमान्डुले प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको हो।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो। लुम्बिनीका सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। काठमान्डुका जहानदाद खानले ४ तथा करण केसीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो। उसका लागि डेभिड वार्नरले ६६, साहिल पटेलले ३८ र सहान अराचिगेले अविजित ३४ रन बनाए।
यो हारसँगै लुम्बिनीको एनपीएलमा लगातार १० खेलदेखिको अपराजित यात्रा टुंगिएको छ। यस सिजनकाे पनि याे पहिलाे हार हाे । पाँच खेलबाट ७ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमै रहँदा चार खेलबाट ६ अंक जोडेको काठमान्डु दोस्रो स्थानमा उक्लिएको छ।
















