खाेज्नुहाेस

सुदूरको लोक ढुक्ढुकी ‘ड्यौडा’

Image

ड्यौडा हाम्रा सुदूरतिरको – लोकसाहित्य रङ्ग ।
डोटेलीका मन मगजको – भावनाको तरङ्ग ।।
काली–भेरी अँझपर सिँजा – प्रान्तको स्वर्णहार ।
हुन्छन् यस्मा फरकपनका – भाव–भाका प्रकार ।।
।।१।।

ड्यौडा भित्रै नवरसहरु – गीतमा छल्कि दिन्छन् ।
ड्यौडा भित्रै प्रणयपनका – भावना झल्कि दिन्छन् ।।
ड्यौडा भित्रै कुमति युगका – मूर्तभै टल्कि दिन्छन् ।
ड्यौडा भित्रै हृदयतलका – चाहना पल्कि दिन्छन् ।।
।।२।।

attariya hospital

ड्यौडा भित्रै विषयहरुको – हुन्छ यौटा सवाल ।
ड्यौडा भित्रै त्यस विषयको – मिल्छ मीठो जवाफ ।।।
ड्यौडा भित्रै सुख–दुःख–कथा – प्यार संचार हुन्छ ।
आँसु–हाँसो जनम गतिको – पूर्ण संसार हुन्छ ।।
।।३।।

navjiwan hospital

ड्यौडा हाम्रो विगत दिनकै – खेल यौटा चिनारी ।
हुन्छन् यस्मै यस जनमका – लोक साहित्यभारी ।।
ड्यौडालाई प्रणयमनले – गर्दछन् आत्मसात ।।
ड्यौडा खेल्ने लय र सुरमा – छैन केही विवाद ।।
।।४।।

भाषाकै हो जनम स्थलयो – रम्य हाम्रो सुदूर ।
आफ्नै भाषा चल–चलनमा – आज यो छैन दूर ।।
ड्यौडा बोल्ने धरणितल हो – मात्र हाम्रो सुदूर ।
ड्यौडा खेल्ने यस धरणिका – व्यक्तिमा हुन्छ सुर ।।
।।५।।

ठाडी भाका लय–लहरमा – गाइने गीत ड्यौडा ।
खेल्दा कैल्यै समूहहरुमा – खेलिने खेल ड्यौडा ।।।
खेलाडीका अभिनयहरु – अङ्मा हेर्छ ड्यौडा ।
डोटेलीका जन हृदयको – ढुक्ढुकी बन्छ ड्यौडा ।।
।।६।।

लेखक : निर्मलकुमार भण्डारी
गोदावरी न.पा.–४,
बास्कोटा–कैलाली