बैतडी – बैतडीको दशरथ चन्द नगरपालिकाले किसानलाई लक्षित गरी स्थापना गरेको निःशुल्क माटो परीक्षण प्रयोगशाला एक वर्षदेखि प्रयोगविहीन बनेको छ । किसानको खेतबारीको माटो परीक्षण गरी कृषि उत्पादन बढाउने उद्देश्यले सञ्चालनमा ल्याइएको प्रयोगशालामा एक वर्षको अवधिमा एक जना पनि किसान परीक्षणका लागि नआएपछि प्रयोगशालाका उपकरण थन्किएका छन् ।
नगरपालिकाले आफ्नो स्थापना दिवसको ३० औँ वर्षका अवसरमा गत वर्ष माटो परीक्षण प्रयोगशाला र कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो । तर, निःशुल्क सेवा उपलब्ध हुँदासमेत किसानले प्रयोगशालाको उपयोग गर्न सकेका छैनन् ।


नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीका अनुसार प्रयोगशालाबाट माटोको अम्लीयपन, क्षारीयपन तथा तटस्थता परीक्षण गर्न सकिन्छ । यसका साथै नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थको मात्रा तथा माटोको बनोटसम्बन्धी १० प्रकारका परीक्षण निःशुल्क गर्ने व्यवस्था छ ।
कृषि शाखा प्रमुख कार्कीले प्रचारप्रसार तथा जनचेतनाको कमीका कारण किसान प्रयोगशालासम्म आउन नसकेको बताए । बैतडीपछि माटो परीक्षण प्रयोगशाला कञ्चनपुरको सुन्दरपुरमा रहेको छ । त्यहाँ पुगेर माटो परीक्षण गराउँदा किसानलाई यातायात भाडा र परीक्षण शुल्कसमेत गरी करिब पाँच हजार रुपैयाँ खर्च लाग्ने गरेको छ ।
यता दशरथ चन्द नगरपालिकामा खेतीयोग्य जमिनको ठूलो हिस्सा बाँझो रहेको छ । नगरपालिकाको तथ्याङ्कअनुसार कुल खेतीयोग्य जमिनमध्ये ७५ प्रतिशत जमिन बाँझो छ ।





















