अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरिया बसपार्क सँगै जोडिएको दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा भगवान् भेटिएको भन्दै रातारात गाडिएका पिल्लर सँगै मन्दिर सामग्री हटाइएका छन् । बुधवार सामुदायिक वन, वनका कर्मचारी र स्थानीयले पिल्लर सँगै मन्दिर सामग्री हटाइएका हुन ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका – २ घर भई विगत ४ वर्ष देखि गोदावरी नगरपालिका – २ मा बस्दै आएका मदन राज भट्टले सो क्षेत्रमा औँसीको राती भगवान् प्रकट भएको भन्दै पूजा आजा गर्न सुरु गरेका थिए । त्यसपछि त्यसको वरपर घेरबार गर्न भन्दै फलामका पिल्लर पनि गाडिएका थिए ।

सो क्षेत्रमा माटोभित्र भगवती, दुर्गा, नवदुर्गा, भवानीका मूर्ति भेटिएको भन्दै सो क्षेत्र वरिपरि सामुदायिक वनलाई समेत जानकारी नदिएर अतिक्रमण गरिएको भन्दै वनले हटाएको जनाएको छ । वनकी अध्यक्ष शिभा कडायतले अतिक्रमण गर्ने उद्देश्यले अरू ठाउँबाट ल्याइएका मूर्ति आकृतिका ढुङ्गा राखिएको पाइएको बताइन् ।
ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारले अत्तरियामा ३३ कोटी देवता भेटिएको भन्नु झुट भएको बताए । उनले कुनै शक्ति भएका त्यहाँको वातावरण नै छुटै किसिमको हुने बताउँदै उनले आफूले त्यहाँ जाँदा कुनै अनुभूति नभएको बताए ।



















