अत्तरिया – अत्तरियामा सञ्चालित कैलाली जिल्ला स्तरीय स्कुल डान्स कम्पिटिसनको फाइनल कार्तिक १४ गते हुने भएको छ । वन वे डान्स क्याम्पको आयोजनामा गत साउन ८ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक १४ गते सम्पन्न हुन लागेको हो ।
प्रतियोगिताको फाइनलमा १६ जना प्रतिस्पर्धीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने वन वे डान्स क्याम्पका सञ्चालक नरेश विकले बताए । उनका अनुसार प्रतियोगिताको तेस्रो संस्करणमा जिल्लाभरबाट ६ सय जना सहभागी भएका थिए ।


मेगा राउन्ड, कोरियोग्राफी राउन्ड र युनिक राउन्डसँगै तीनवटा भोटिङ राउन्ड पार गर्दै १६ जना प्रतिस्पर्धी फाइनलका लागि छनोट भएको उनले बताए । फाइनलमा पुगेका १६ जनामध्येबाट शतप्रतिशत भोटिङका आधारमा विजेता छनोट गरिने विकले जानकारी दिए ।
अत्तरियाका अग्रज कलाकार विनोद मल्लले जिल्ला स्तरीय डान्स कम्पिटिसनले यस क्षेत्रका नृत्य प्रतिभाहरूबीच आत्मविश्वास बढाउन सहयोग पुगेको बताए । यस्ता प्रतियोगिताले कलाकारहरूको आत्मबल बढाउनुका साथै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्ने उनको भनाइ छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार १५१ रुपैयाँ, द्वितीय हुनेले ३० हजार १५१ रुपैयाँ र तृतीय हुनेले २० हजार १५१ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीका लागि पनि सान्त्वना पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि छनोट भएका १६ जना प्रतिस्पर्धीलाई वन वे डान्स क्याम्पले निःशुल्क नृत्य प्रशिक्षणसमेत प्रदान गरेको थियो ।



















