अत्तरिया – नेपाल प्रिमियर लिग (एनपीएल) को अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्स तेस्रो सिजन नयाँ लक्ष्य र थप तयारीका साथ मैदानमा उत्रँदै छ । लगातार दुई पटक उपविजेतामा सीमित बनेको टोलीका लागि यसपटकको प्रतियोगिता उपाधि जित्ने अर्को अवसर मात्र होइन, विगतका कमजोरी सुधार्ने चुनौती पनि हो ।
एनपीएलका दुवै संस्करणमा सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणमा शीर्ष स्थान हासिल गरेको थियो । सातमध्ये छ खेल जितेको टोलीले पहिलो क्वालिफायरमा सफलता हात पार्दै दुवै पटक फाइनलको यात्रा तय गरेको थियो । तर, उपाधि भिडन्तमा भने टोली सफल हुन सकेन ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग हार्दै उपविजेतामै सीमित बन्यो । लगातार राम्रो प्रदर्शन गरेर पनि अन्तिम खुड्किलो पार गर्न नसकेको टोली यसपटक त्यो इतिहास बदल्ने लक्ष्यमा छ ।
पुरानै आधार, नयाँ रणनीति
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले आफ्नो मुख्य नेपाली खेलाडीलाई निरन्तरता दिँदै टोलीको बलियो आधार कायम राखेको छ । कप्तान दीपेन्द्रसिंह ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमा राखिएको छ ।
अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको टोलीले स्थानीय खेलाडीलाई प्राथमिकता दिएको छ । आफ्नै क्षेत्रका खेलाडीलाई अवसर दिने सुदूरपश्चिमको प्रयासले समर्थकसँगको सम्बन्धलाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसपटक टोलीले प्रशिक्षणलाई पनि प्राथमिकतामा राखेको छ । सुदूरपश्चिम रोयल्स भारतको लखनउमा अभ्यास गरिरहेको छ । टोलीलाई थप व्यवस्थित बनाउन पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
उपाधि जित्ने लक्ष्यसहित सुदूरपश्चिमले विदेशी खेलाडीको संयोजनमा पनि ध्यान दिएको छ । न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन र इंग्ल्यान्डका सैफ जैबलाई टोलीमा अनुबन्ध गरिएको छ ।
कुगेलेइनको निरन्तरतासँगै म्याकमुलेन र जैबको आगमनले टोलीको ब्याटिङ तथा बलिङलाई सन्तुलित बनाउने अपेक्षा छ । यद्यपि, अघिल्लो सिजन टोलीमा रहेका अमेरिकी अलराउन्डर हर्मीत सिंह यसपटक जनकपुर बोल्ट्समा आबद्ध भएका छन् । उनको स्थानमा उपयुक्त खेलाडीको संयोजन मिलाउनु सुदूरपश्चिमका लागि महत्वपूर्ण हुनेछ ।
ब्याटिङमा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख र इशान पाण्डेजस्ता खेलाडीको भूमिका महत्वपूर्ण रहनेछ । बलिङमा कुगेलेइन, अभिनाश बोहरा र हेमन्त धामीबाट टोलीले प्रभावकारी प्रदर्शनको अपेक्षा गर्न सक्छ । तर, प्रतिस्पर्धात्मक खेलमा दबाब व्यवस्थापन र निर्णायक समयमा सही रणनीति अपनाउनु नै उपाधि यात्राको मुख्य आधार बन्नेछ ।
सुदूरपश्चिम रोयल्सको अर्को बलियो पक्ष समर्थकको साथ हो । प्रतियोगिताका अघिल्ला संस्करणमा टोलीले पाएको दर्शकको समर्थनले खेलाडीमा उत्साह थपेको थियो । तर, एनपीएलमा अन्य टोली पनि उपाधि जित्ने लक्ष्यसहित तयारीमा छन् । विदेशी खेलाडीको अनुभव, नेपाली खेलाडीको प्रदर्शन, टोलीको सन्तुलन र खेलको परिस्थितिअनुसार रणनीति बदल्न सक्ने क्षमताले नतिजामा प्रभाव पार्नेछ ।
लगातार दुई पटक फाइनलमा पुगेर उपाधि गुमाएको सुदूरपश्चिमका लागि तेस्रो प्रयास अवसर र चुनौती दुवै हो । अघिल्ला संस्करणका कमजोरी सुधार्दै खेलाडीले मैदानमा आफ्नो क्षमता देखाउन सके यसपटक उपाधि जित्ने लक्ष्य पूरा गर्ने बाटो खुल्न सक्छ ।





















