खाेज्नुहाेस

स्वास्थ्य युवा महोत्सव : दर्जन बढी सेवा दिइने

Image
navjiwan hospital

अत्तरिया – कैलालीको अत्तरियामा आयोजना हुने स्वास्थ्य युवा महोत्सव–२०८३ मा दर्जन बढी स्वास्थ्य सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । महोत्सवमा स्वास्थ्य परीक्षण, विशेषज्ञ परामर्श, मानसिक स्वास्थ्य सचेतना, महिला स्वास्थ्य तथा रोगको रोकथामसम्बन्धी कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ ।
‘स्वस्थ युवा, स्वस्थ समाज, समृद्ध सुदूरपश्चिम’ भन्ने नारासहित आगामी कार्तिक १३ देखि १८ गतेसम्म गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा महोत्सव आयोजना हुन लागेको छ ।
समृद्ध सुदूरपश्चिम अभियान सुदूरपश्चिम प्रदेश युवा चेम्बर तथा प्रदेश, जिल्ला र नगर चेम्बर अफ कमर्सको आयोजना तथा सहकार्यमा हुन लागेको महोत्सवले युवा, किशोरकिशोरी, महिला तथा समुदायमा स्वास्थ्यसम्बन्धी सही जानकारी पु¥याउनु र रोगको समयमै पहिचान तथा रोकथाममा सहयोग गर्नु रहेको जनाइएको छ ।
महोत्सवमा मानसिक स्वास्थ्य तथा कुलत नियन्त्रणसम्बन्धी परामर्श, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम, लागुऔषध तथा मदिराको दुरुपयोग नियन्त्रणबारे सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । त्यस्तै, परम्परागत उपचार पद्धति र आधुनिक चिकित्साबीच अन्तरक्रिया गरी स्वास्थ्य समस्या पहिचान, प्राथमिक उपचार तथा समयमै अस्पताल जानुपर्ने अवस्थाबारे जानकारी दिइने सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सक अध्यक्ष विनोद मल्लले बताए ।
महोत्सवमा महिला तथा किशोरीको स्वास्थ्यलाई प्राथमिकता दिँदै महिनावारी, रक्तअल्पता, प्रजनन स्वास्थ्य, पीसीओएस, थाइराइड, हर्मोनसम्बन्धी समस्या, गर्भावस्था तथा मातृस्वास्थ्यबारे विशेषज्ञ परामर्श उपलब्ध गराइने उनले बताए । साथै, चिकित्सकीय मापदण्ड र सेवा उपलब्धताअनुसार पाठेघरको मुखको क्यान्सर परीक्षण तथा भीआईए विधिबाट परीक्षणसम्बन्धी सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा आँखा तथा दन्त परीक्षण, सन्तुलित खानपान, पोषण, खाद्य स्वच्छता, मोटोपन, मधुमेह, उच्च रक्तचाप तथा मुटुरोगबाट बच्ने उपायबारे सचेतना दिनुका साथै योग, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्शको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
महोत्सव स्वास्थ्य परीक्षणमा मात्र सीमित नभई चिकित्सक, स्वास्थ्य विशेषज्ञ, विद्यार्थी, युवा तथा समुदायबीच प्रत्यक्ष सवाल–जवाफ, संवाद र अन्तरक्रिया गर्ने अवसरका रूपमा सञ्चालन गरिने जनाइएको छ । महोत्सवमा सहभागी हुन इच्छुक व्यक्तिहरूले समृद्ध सुदूरपश्चिम अभियानको फेसबुक पेजमा उपलब्ध अनलाइन फाराम भर्न आयोजकले अनुरोध गरेको छ ।

सम्बन्धीत समाचार : यस्तो महोत्सव जहाँ मञ्चमा कलाकार होइनन्, चिकित्सक हुनेछन्

attariya hospital