धनगढी – बजेट प्रस्तुतको कार्यसूची राख्दै आज बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक सरेको छ। बिहानका लागि बोलाइएको बैठक दिउँसो ४ बजे बस्ने गरी सारिएको प्रदेश सभा सचिवालयका प्रवक्ता लक्ष्मी प्रसाद जोशीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारभित्र बजेटको बाँडफाँट र मन्त्रालयगत बजेट सीमाबारे विवाद हुँदा चालु आर्थिक वर्षको बजेट निर्माणमा ढिलाइ भइरहेको छ।
आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि सरकारले बजेट ल्याउन सकेको छैन।

बजेटकै विषयमा अहिले मुख्यमन्त्री खगराज भट्टले बैठक बोलाएका छन्। बैठकपछि बजेट शून्यता कसरी अन्त्य गर्ने विषय टुङ्गो लाग्ने बताइएको छ।
यसअघि सर्वोच्च अदालतको कारण देखाऊ आदेशले बजेट प्रक्रिया रोकिएको बताइएको थियो।
तर, शुक्रवार बजेट विवादमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्यो। अदालतको यो निर्णयसँगै प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको थियो।















