तिलकराज ओझा/धनगढी – गत आर्थिक बर्ष २०८२/०८३ मा एक स्थानिय तह दुई उत्पादन अभियान अन्र्तगत विशेष पकेट क्षेत्र विकास कार्यक्रमबाट कैलालीका ३७३ किसान लाभान्वित भएका छन । गत आवबाट सुरु भएको सो अभियान अन्र्तगत विशेष पकेट क्षेत्र विकास कार्यक्रमबाट जिल्लाका १३ वटै स्थानिय तहका बाख्रा, भैँसी, बंगुर र मत्स्य पालक किसान लाभान्वित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्दकान्त पन्तले जानकारी दिए ।

किसानले राम्रो आयआर्जन गर्नुका साथै बढी भन्दा बढी किसान लाभान्वित हुन भन्ने उद्देश्यले लागु गरीएको उक्त कार्यक्रम अन्र्तगत सबै स्थानिय तहका किसानलाई कार्यालयले गत बर्ष ५ करोड ५० लाख रुपैया अनुदान उपलब्ध गराएको थियो ।

जसअन्र्तगत चुरे गाउँपालिकामा बाख्रा पालन व्यवसाय गर्दै आएका ६७ वटा बाख्रा फर्मलाई ४० लाख, मोहन्याल गाउँपालिकामा १० वटा बाख्रा फर्म, तिन वटा समूह र एउटा सहकारीको लागि ४० लाख, गोदावरी नगरपालिकाका २२ वटा बाख्रा फर्मको लागि ४० लाख, गौरीगंगा नगरपालिकामा २० वटा बाख्रा फर्मको लागि ४० लाख, घोडाघोडी नगरपालिका चार वटा बंगुर फर्मको लागि ४० लाख र लम्कीचुहा नगरपालिकाका १३ वटा भैसी फर्मलाई ५० लाख अनुदान रकम उपलब्ध गराएको थियो ।
त्यसैगरी टिकापुर नगरपालिकाका ७ वटा भैँसी फर्मलाई ५० लाख, जानकी गाउँपालिकाका तिन वटा भैँसी फर्मलाई ४० लाख, भजनी नगरपालिकाका चार वटा भैँसी फर्मलाई ४० लाख, धनगढी उपमहानगरपालिकाका २२ वटा भैँसी फर्मलाई ५० लाख, बर्दगोरीया गाउँपालिकाका तिन वटा मत्स्य फर्मलाई ४० लाख, जोशीपुर गाउँपालिकाका तिन वटा बाख्रा फर्मलाई ४० लाख र कैलारी गाउँपालिकाका दुई वटा बंगुर फर्म, दुई वटा समुह तथा एक सहकारीलाई ४० लाख रकम अनुदान उपलब्ध गराईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । सो अनुदान रकमका आधारमा फर्महरुले उपलब्धीमुलक कार्य गरेको भेटिएको समेत कार्यालयले जनाएको छ ।














