बसन्ती धामी, काठमाण्डौं – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार धर्मानन्द जोशीले पार्टीभित्र आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेका छन् ।
कानूनमा स्नातकोत्तर गरेका जोशीले अधिवक्ताका रूपमा काम गर्नुका साथै संयुक्त राष्ट्रसंघमा १५ वर्षभन्दा बढी समय कानून, मानवअधिकार तथा विकास व्यवस्थापनका क्षेत्रमा अनुभव हासिल गरेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त अनुभवलाई राजनीतिक तथा सामाजिक सेवामा उपयोग गर्ने उद्देश्यसहित आफू अघि बढेको उनको भनाइ छ ।


दार्चुलाको शिक्षा क्षेत्रमा जोशीले २२ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन् । यस्तै, स्वास्थ्य क्षेत्रमा स्ट्रेचर सहयोग तथा विभिन्न सामाजिक गतिविधिमा समेत योगदान गर्दै आएका छन् । सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक सेवाका विषयलाई उनले आफ्नो राजनीतिक यात्राको मुख्य आधार बनाउँदै आएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा जोशीले खुलातर्फ दोस्रो सर्वाधिक मत प्राप्त गरेका थिए । उक्त परिणामलाई पार्टीभित्र उनको बढ्दो राजनीतिक सक्रियता र समर्थनको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय अनुभव, कानून तथा मानवअधिकार क्षेत्रमा हासिल गरेको ज्ञान, सामाजिक योगदान र पार्टीभित्रको सक्रियतालाई आधार बनाएर जोशी केन्द्रीय सदस्यको प्रतिस्पर्धामा अघि बढेका हुन् । उनले कांग्रेसलाई थप लोकतान्त्रिक, उत्तरदायी र जनमुखी बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


















