अत्तरिया – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तरगत पूर्वसभापति शेरबहादुर देउवा पक्षले कैलालीको गोदावरी नगरपालिकाका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ।
देउवा पक्षले तय गरेको समानान्तर अधिवेशन कार्यतालिकाअनुसार असोज १५ गतेदेखि सुरु भएको वडा अधिवेशन गोदावरीका सबै वडामा सम्पन्न भएको हो। अधिवेशनबाट १२ वटै वडामा नयाँ वडा सभापतिसहित नेतृत्व चयन गरिएको छ।


निर्वाचित वडा सभापतिहरूमा वडा नम्बर १ मा नरबहादुर बलायर, २ मा वीरबहादुर महरा, ३ मा दुर्गाप्रसाद भट्ट, ४ मा शोभनसिंह मल्ल, ५ मा कन्नार राना, ६ मा धनबहादुर खड्का, ७ मा ठक्करबहादुर मगर, ८ मा राजबहादुर राउत, ९ मा रामसाही राना, १० मा भीमबहादुर मल्ल, ११ मा कलसा बडैला र १२ मा तुलसा बोहरा चयन भएका छन्।
वडा अधिवेशन सम्पन्न भएसँगै देउवा पक्ष अब नगर अधिवेशनको तयारीमा जुटेको छ। नगर कार्यसमितिका अनुसार असोज २० गते बिहान ११ बजे अत्तरियास्थित नमस्ते पार्टी प्यालेसको हलमा नगर अधिवेशन आयोजना गरिने जनाइएकाे छ ।
यसैबीच, गोदावरीमा कांग्रेसको अर्को पक्षले यसअघि नै वडा तथा क्षेत्रीय तहको अधिवेशन सम्पन्न गरिसकेको छ। सभापति गगन थापा नेतृत्वको पक्षले असोज ३ र ४ गते गोदावरीका १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरी त्यसपछि क्षेत्रीय अधिवेशनसमेत सम्पन्न गरिसकेकाे छ ।
गोदावरीमा कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर देउवा पक्षले आफ्नो समानान्तर अधिवेशन प्रक्रिया अघि बढाएको छ भने गगन थापा नेतृत्वको पक्षले यसअघि नै वडा, नगर तथा क्षेत्रीय तहको अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। राष्ट्रिय तहमा पनि दुवै पक्षले छुट्टाछुट्टै महाधिवेशन कार्यतालिका अघि बढाएका छन ।
















