अत्तरिया – कैलालीकाे गोदावरी नगरपालिकाका ५ वडामा आज नेपाली कांगेस शेर बहादुर देउवा पक्षको वडा अधिवेशन हुँदै छ । गोदावरीको १, २, ४, ६ र ८ मा आज वडा अधिवेशन भइरहेको कांगेसका नगर सभापति वीर बहादुर चोखालले बताए ।

उनले बाकी वडामा भने भोलि वडा अधिवेशन हुने बताए । ‘आज पहिलो दिन ५ वडामा अधिवेशन भइरहेको छ बाँकी वडामा भोलि, पर्सी हुन्छ’ उनले भने । गोदावरीमा नगरप्रमुख वीरेन्द्र भट्ट पनि देउवा पक्षमै उभिएका छन् । उनले आज बिहानै मात्रै वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका थिए ।

गोदावरीमा नेपाली कांग्रेस संस्थापन पक्षले भने असोज ३ र ४ गते वडा अधिवेशन गरिसकेको छ । सस्थापन पक्षले वडा, नगर हुँदै क्षेत्रीय अधिवेशन पनि सम्पन्न गरिसकेको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८ गतेदेखि हुने १५औँ महाधिवेशनको तयारी गरिरहेकै बेला सो पार्टीको इतर समूह देउवा पक्षले पनि समानान्तर अधिवेशन अन्तरगत आज वडा अधिवेशन गरिरहेको हो ।
देउवा पक्षले १५औँ महाधिवेशन आगामी मङ्सिर २१ देखि २३ गतेका लागि तोकेको छ ।















