अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन् । क्षेत्रिय सभापति र २० जना महाधिवेशन प्रतिनिधिका लागि मंगलबार निर्वाचन भएको भएपनि हालसम्म मतगणना हुन नसकेको हो ।
निर्वाचन समितिले मंगलबार राती देखी नै मतगणनाको कार्य सुरु गर्ने जनाएको थियो । तर कांग्रेसको कैलाली जिल्ला निर्वाचन समितिले मंगलबार साँझ नै एक सूचना जारी गर्दै बुधबार बिहान १० बजेसम्मका लागि मतगणना स्थगित गरिएको बताएको थियो ।


जिल्ला निर्वाचन अधिकृत वीरेन्द्र कुमार खत्रीले निर्वाचन पश्चात मतगणना गर्ने बताईएपनि विविध कारणले गर्दा मतगणनाको समय सार्नुपरेको बताए । उनले कैलाली क्षेत्र नं. ४ का लागि पठाईएका निर्वाचन अधिकृतको स्वास्थ्यमा समस्या आएका कारण केही समयका लागि मतगणना स्थगित गरिएको बताए ।
उनका अनुसार नयाँ निर्वाचन अधिकृतलाई पठाउने तयारी भैरहेको छ । नयाँ निर्वाचन अधिकृत पठाएपछि मात्रै मतगणनाको कार्य सुरु हुने उनले बताए । ‘निर्वाचन अधिकृतको स्वास्थ्यमा समस्या देखिएका कारण मतगणना केही समयका लागि स्थगित गर्नुपरेको हो’ खत्रीले भने ‘नयाँ निर्वाचन अधिकृतलाई पठाउने विषयमा तयारी भैरहेको छ, नयाँ निर्वाचन अधिकृत आईसकेपछि मतगणनाको कार्य सुरु हुन्छ ।’
कांग्रेस कैलाली क्षेत्र नं. ४ मा सभापती र २० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ९१ प्रतिशत मतदान भएको छ । कुल ७५७ मतदाता रहेकोमा ६९० मत खसेको हो । मंगलबार भएको निर्वाचनमा कुल २१ पदका लागि ४१ जना उम्मेदवार चुनावी मैदानमा छन ।















