धनगढी – सुदूरपश्चिम प्रदेशका पुर्वमुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रामारोशन, बडिमालिका र खप्तडको योजनाबद्ध विकासले प्रदेशको आर्थिक समृद्धिको आधार तयार गर्न सकिने बताएका छन ।

बिहीबार टीकापुरमा रामारोशन विकास केन्द्रको प्रथम साधारण सभाको उद्घाटन गर्दै उनले यहाँका तीनवटै क्षेत्रको विकासलाई जनताको आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताए । उनले धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धनमार्फत स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका शाहले राष्ट्रिय एकता, अखण्डता, सामाजिक सद्भाव र सामाजिक एकता कायम राख्दै ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा मौलिक परम्परा र संस्कारको संरक्षण तथा संवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिमको पहिचान र सम्भावनासँग जोडिएका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा राज्य, स्थानीय समुदाय र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेशकुमार शाहको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री झपटबहादुर साउँदलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।















