काठमाडौं – नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको भनेर स्टाटस लेखेपछि धेरैले यसलाई डिभोर्सको तयारीका रुपमा बुझेका छन् । तर, उनले डिभोर्सका लागि नभएर बहुविवाहको मुद्दा हाल्न लागेको खुलेको छ ।
आज सामाजिक सञ्जालमा लेखेको स्टाटसमा रञ्जिताले घुमाउरो ढंगले यसको संकेत गरेकी थिइन् ।

उनले लेखेकी छन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्न, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ । तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन ।’

यस विषयमा नेपाल प्रेसले रञ्जितासँग जिज्ञासा राख्दा उनले बहुविवाहको मुद्दा हाल्न लागेको बताइन् ।
उनले भनिन्, ‘म धेरै समयदेखि मौन बसेकी थिएँ । तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ । म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु ।’
रञ्जिता रेशमकी पहिलो पत्नी हुन् । रञ्जितालाई धोका दिएर रेशमले आशा चौधरीसँग दोस्रो विवाह गरेका थिए । रञ्जिता र रेशमको एक छोरा छन् भने आशातर्फ एक छोरी छिन् ।
पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिकरुपमा फाटो आएको छ भने उनीहरुको दाम्पत्य सम्बन्ध पनि सहज छैन । लामो समयदेखि उनीहरू अलग बसिरहेका छन् । रञ्जिता काठमाडौंमा छोरासँग बस्छिन् । रेशम भने कान्छी श्रीमती आशा र छोरीसँग बर्दियामा बस्दै आएका छन् ।

















