धनगढी – धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ । जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने परीक्षण निसर्गमा सुरु गरिएको हो ।
सामान्य रगत परीक्षणबाट सहजै पहिचान गर्न नसकिने कतिपय रोगको अवस्था बुझ्न शरीरमा रहेका विशेष प्रकारका प्रोटिनको मात्रा तथा अवस्थाबारे जानकारी लिनुपर्ने हुन्छ । विशेषगरी प्रतिरक्षा प्रणालीमा हुने गडबडी, रक्तसम्बन्धी क्यान्सर, मिर्गौला रोग तथा स्वप्रतिरक्षी रोगको पहिचानमा विशेष प्रोटिन परीक्षणको महत्वपूर्ण भूमिका हुन्छ ।


यसअघि यस्ता जटिल परीक्षणका लागि नमुना विदेश पठाउनुपर्ने वा सीमित प्रयोगशालामा मात्र भर पर्नुपर्ने अवस्था थियो । अब भने सुदूरपश्चिममै पहिलोपटक निसर्ग हस्पिटलमा यो सेवा सुरु भएपछि आवश्यक विशेष प्रोटिन परीक्षण अस्पतालमै गर्न सकिने भएको अस्पतालले जनाएको छ ।
निसर्ग हस्पिटलका कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. राजेन्द्र महरका अनुसार विशेष प्रोटिन परीक्षणले रोगको प्रकृति पहिचान गर्न तथा उपचारको प्रभावकारिता मूल्यांकन गर्न महत्वपूर्ण सहयोग पु-याउँछ । उनका अनुसार यस्तो सेवा आफ्नै प्रदेशमा उपलब्ध हुँदा जटिल रोगको परीक्षण र उपचार प्रक्रियालाई थप सहज बनाउन सकिन्छ ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तीर्थराज पन्तले सुदूरपश्चिमका नागरिकलाई आवश्यक जटिल स्वास्थ्य परीक्षण आफ्नै प्रदेशमा उपलब्ध गराउने उद्देश्यसहित अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताए ।



















