कञ्चनपुर– भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरुका लागि कञ्चनपुरबाट १ करोड २२ लाख बढी रकम सहयोग प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्थाबाट बाढी प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनका लागि १ करोड २२ लाख २ हजार रुपैया सहयोग प्रदान गरिएको हो । सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
जिल्लामा सबैभन्दा बढी सुदूरपश्चिम विश्वविद्यालयले ८८ लाख बराबरको रकम राहत कोषमा जम्मा गरेको छ । विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब रकम कट्टा गरी कोषमा रकम जम्मा गरिएको हो ।


त्यस्तै जिल्लाको शुक्लाफाँटा नगरपालिकाले सात लाख रुपैया कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पाँच लाख २५ हजार राहत कोषमा जम्मा गरेको छ । सङ्घका अध्यक्ष दिनेश मल्लले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । यस्तै जिल्लामा रहेको लिटिल बुद्ध एकेडमीले राहत कोषमा ८ लाख २५ हजार, उदयदेव सहकारी संस्थाले २ लाख ११ हजार, मेघा सहकारीले १ लाख १ हजार, सृजनशील सहकारीले १ लाख ११ हजार र जिल्लाका अन्य सहकारीले ९८ हजार सहयोग गरेका छन् ।
त्यसैगरी निड्स नेपालले १ लाख २५ हजार, राष्ट्रिय समाज कल्याण सङ्घले १ लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा नं. १८ ले १ लाख ११ हजार, वडा नं. ४ ले ५१ हजार, वडा नं. १७ ले ५० हजार रकम राहत कोषमा जम्मा गरेका छन् । कञ्चनपुरमा रहेको होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार, मर्निङ ग्लोरी स्कुलले ५१ हजार तथा होटेल ओपेराले १ लाख ५१ हजार राहत कोषमा जम्मा गरेका छन् ।
जिल्लामा रहेको गुरुकुल इन्टरनेसनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ । जिल्लाका विभिन्न सङ्घसंस्थाहरूले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका सहयोग गर्ने क्रम जारी रहेको छ ।



















