कञ्चनपुर – कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ।
पुनर्वास नगरपालिका–१० विकास बस्तीबाट ९५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित स्थानीय ३२ वर्षीय होसियार राना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा प्रहरी चौकी परासनबाट खटिएको टोलीले सोमबार दिउँसो चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो।


त्यस्तै, लालझाडी गाउँपालिका–१ डाँडाबिछुवाबाट २८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित ३० वर्षीय राजेश राना पक्राउ परेका छन्। उनको घरकोठामा खानतलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी, सोही क्षेत्रबाट १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित १८ वर्षीय किशोर पनि पक्राउ परेका छन्।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध कारोबारसम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















