कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा चरेशजस्तो देखिने कालो पदार्थसहित दुई जना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेशजस्तो देखिने कालो पदार्थसहित बलेरो पिकअप जिप र त्यसमा सवार दुई जना पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोस्ट गजरौलाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति सु.प.प्र.०१–००१ च ४८११ नम्बरको सेतो रंगको बलेरो पिकअप जिप चेकजाँच गरेको थियो।


चेकजाँचका क्रममा जिपको बोनेटमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिप चालक बझाङको बुंगल नगरपालिका–१ दहबगरका २२ वर्षीय कलक धामी र जिपमा सवार केदारस्यु गाउँपालिका–७ काँडाचौरका ५० वर्षीय करन धामी रहेका छन्।
प्रहरीले बरामद पदार्थ र जिपसहित दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

















