बेलौरी – भोटेकोसीमा आएको बाढीपछि रसुवामामा रहेका बेलौरीका ५ जना सम्पर्क विहीन भएका छन् । बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन शाखाका अनुसार बाढीपछि बेलौरीका ५ जना बेपत्ता भएका हुन ।

रसुवा हाइड्रोपावरमा कार्यरत बेलौरी नगरपालिका ३ का राम चन्द्र चौधरी, आदर्श चौधरी, नवीन चौधरी सम्पर्क विहीन भएको बेलौरी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिए ।

त्यस्तै सोही ठाउँमा कार्यरत बेलौरी नगरपालिका ५ का प्रकाश चौधरी र खुसीराम चौधरी सम्पर्क विहीन भएका छन् ।
परिवार सँगै मंगलबार साँझ र बुधवार बिहान सम्पर्कमा रहेका उनीहरू बाढी पछि परिवारको सम्पर्कमा नरहेको पाण्डेयले बताए । उनका अनुसार खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय मार्फत गृह मन्त्रालयमा जानकारी गराइसकिएको छ ।
बाढीपछि कञ्चनपुरका ३८ जना सम्पर्क विहीन रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रवक्ता टेक रावतका अनुसार पछिल्लो जानकारी अनुसार ३८ जना सम्पर्क विहीन रहेको र ४ जना सम्पर्कमा आइसकेको खबर प्राप्त भएको छ ।
















