सन्तोष पन्त/बेलौरी– बेलौरी नगरपालिका– १० का भित्री सडकहरुको अनुगमन गरिएको छ । सडकमा पशुचौपाया, कृषि सामाग्री लगायतका समान राखिन थालेपछि शुक्रवार वडा अध्यक्ष सोमलाल चौधरी सहितको टोलीले अनुगमन गरेको हो । वडा अध्यक्ष सहित विभिन्न टोलका भलभन्सा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले सडकहरुको अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा सडकहरुमा पशुचौपाया बाधेको, कृषि सामाग्री (हैरो, रोटाबेटर, ट्रली, डल्लब), गिट्टी, बालुवा लगायत सामाग्री राखेको पाईएको वडा अध्यक्ष सोमलाल चौधरीले जानकारी दिए । उनका अनुसार अनुगमनकै क्रममा स्थानीयहरुलाई सूचना सहित आगामी दिनमा यस्तो गरिएको पाइए कानुन अनुसार कार्वाही हुने जानकारी दिईएको छ ।


सडकमा यस्तो गर्दा सडक साघुरो भइ दुर्घटनाको जोखिम बढ्ने, सडक भासिने हुदा सबैले आअफ्नो तवरले सहयोग गर्नुपर्ने वडा अध्यक्ष चौधरीको भनाइ छ । उनले केही दिनमै टोल अनुसार वडामा सरसफाइ गरिने समेत बताए । वडाले साउन २२ गते सडक छेउछाउमा गाइबस्तु नबाध्न, कृषि समाग्री राख्न ७ दिने सुचना समेत निकालेको थियो ।


















