खाेज्नुहाेस

प्रदेशको राजधानी निर्माण कार्य तत्काल अघि बढाउन जय गोदावरी अभियानको माग

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ र ४ मा तोकिएको राजधानी निर्माण कार्य तत्काल अघि बढाउन ‘जय गोदावरी’ अभियानले माग गरेको छ । जय गोदावरी अभियानले सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापन पत्र बुझाउँदै सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी निर्माण कार्य तत्काल अघि बढाउन माग गरेको हो ।

ज्ञापन पत्रमा सुदूरपश्चिम प्रदेश सभाले मिति २०७५ साल असोज १२ गते दुई तिहाइ बहुमतबाट गोदावरीलाई प्रदेशको स्थायी राजधानी बनाउने ऐतिहासिक निर्णय गरेको लामो समय भइसक्दा पनि त्यसको कार्यान्वयन हुन नसक्नु समग्र सुदूरपश्चिमवासीका लागि दुःखद विषय बनेको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

जय गोदावरी अभियानका संयोजक धन बहादुर बोगटी ‘धिरेन’ द्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अब थप ढिलाइ नगरी ठोस कार्य योजना, आवश्यक बजेट र समय सीमा सहित स्थायी राजधानी गोदावरी निर्माणको काम तत्काल अघि बढाउन माग गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘माननीय खगराज भट्टज्यू, जनयुद्धको कठिन सङ्घर्षबाट खारिएर आउनुभएका साहसिक, स्पष्ट दृष्टिकोण र निर्णय क्षमता भएका नेताका रूपमा हामीले तपाईँलाई हेरेका छौँ। त्यसैले विगतका अन्योल र ढिलाइलाई अन्त्य गर्दै तपाईँको नेतृत्वमा सुदूरपश्चिमले अब ठोस निर्णय, तीव्र कार्यान्वयन र नयाँ विकासको युगमा प्रवेश गर्नेछ भन्ने हाम्रो विश्वास छ। गोदावरीमा राजधानी निर्माण केवल भवन निर्माणको विषय होइन यो सुदूरपश्चिमको आत्मसम्मान, पहिचान, भविष्य र समृद्धिसँग जोडिएको विषय हो ।’

ज्ञापन पत्र मार्फत सुदूरपश्चिमलाई देवभूमि घोषणा गरी देवभूमिको प्रवेशद्वारको रूपमा रहेको गोदावरी धामलाई एकीकृत विकास परियोजनाको मोडेलमा प्रदेशको गौरवको आयोजना अन्तरगत समेटी यथाशीघ्र कार्यान्वयन गर्न माग गरिएको छ ।