खाेज्नुहाेस

बझाङ स्थित सेती नदीमा पूर्वसूचना प्रणाली ‘मैना’ जडान

Image

बझाङ – बाढी, पहिरो, डुबानलगायतका विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न बझाङको थलारा गाउँपालिकाले सेती नदीमा बहुप्रकोप पूर्वसूचना प्रणाली ‘मैना’ जडान गरेको छ । विपद्को उच्च जोखिममा रहेको थलाराले जडान गरेको यो प्रणालीले कुनै पनि दुर्घटना हुनु पूर्व सम्भावित जोखिमबारे स्थानीयलाई सूचित गर्ने र विपद्को जोखिमबाट बचाउने अपेक्षा गरिएको छ ।

थलारा गाउँपालिकाले पिपुल इन निड संस्थाको आर्थिक सहयोग लिएर यो विपद् पूर्वसूचना प्रणाली वडा–९ झ्यााबगरस्थित सेती नदी किनारमा जडान गरेको हो । यो गाउँ बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । इनोभेटिभ इन्जिनियरिङ सर्भिसेस प्रालिले नेपालमै विकसित गरेको यो बहुप्रकोप पूर्वसूचना प्रणालीले बाढी, पहिरो, डुबान, हिमताल विस्फोट, वन डढेलो, औद्योगिक दुर्घटनालगायतका विपद्को जोखिमबारे समुदायलाई समयमै चेतावनी दिन सक्ने जनाइएको छ ।

attariya hospital

प्राविधिक अनुज खनालका अनुसार प्रणालीमा बाढी तथा अन्य जोखिमको अवस्था मापन गर्ने सेन्सर जडान गरिएको छ । सेन्सरबाट प्राप्त वास्तविक समय (रियल टाइम) सूचनाका आधारमा जोखिमको अवस्था पहिचान गरी आवश्यक परे साइरन आफैं बज्ने व्यवस्था छ । यो प्रविधिको नाम ‘मैना’ नाम राखिनुको कारणबारे खनाल भन्छन्, ‘मैना चरीले मानिसको आवाजको नक्कल गर्न सक्छ ।

navjiwan hospital

यो प्रणालीले पनि विभिन्न आवाज र सन्देशमार्फत समुदायलाई सूचना दिन सक्ने भएकाले यसको नाम ‘मैना’ राखिएको हो । उनका अनुसार यस प्रणालीबाट एसएमएस, इन्टरनेट, स्याटेलाइट नेटवर्क तथा वायरलेस रिमोट कन्ट्रोल मार्फत तत्काल चेतावनी सन्देश पठाउन सकिन्छ । स्थानीयलाई सहज रूपमा बुझाउन विभिन्न स्थानीय भाषामा पूर्वरेकर्ड गरिएका तथा प्रत्यक्ष आवाज सन्देश (भ्वाइस मेसेज) समेत प्रसारण गर्न सकिने व्यवस्था छ ।

ठूलो बाढी वा अत्यधिक वर्षा हुँदा सेन्सरले जोखिमको अवस्था पहिचान गरेपछि प्रणालीले स्वचालित रूपमा साइरन बजाएर आसपासका बस्तीलाई सतर्क गराउन सक्छ । यसले विशेषगरी रातको समयमा वा मानिसलाई विपद्को संकेत तत्काल थाहा नहुने अवस्थामा उपयोगी हुने अपेक्षा गरिएको छ ।

सौर्य ऊर्जाबाट सञ्चालन हुने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि प्रणाली सञ्चालन गर्न सकिने जनाइएको छ । केन्द्रबाटै उपकरणको अवस्था अनुगमन गर्न सकिने भएकाले यसको प्रयोग समुदायसँगै स्थानीय सरकार, जलविद्युत् आयोजना, उद्योग तथा विपद् व्यवस्थापन निकायले समेत गर्न सक्ने प्राविधिकहरूको भनाइ छ ।

थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले विपद् पूर्णरूपमा रोक्न नसकिने भए पनि पूर्वसूचनामार्फत त्यसबाट हुने क्षति घटाउन सहयोगी हुने बताए । ‘विपद् रोक्न सकिँदैन, तर त्यसको पूर्वसूचना समयमै पाएर मानिस र सम्पत्ति सुरक्षित स्थानमा सार्न सकिन्छ,’ उनले भने, ‘झ्याबगर क्षेत्रमा जडान गरिएको यो प्रणालीले सेती नदीमा आउने बाढीको जोखिमबारे समुदायलाई समयमै सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं ।’ गत वर्ष सेती नदीमा आएको बाढीका कारण झ्याबगरमा स्थानीयका घर डुबानमा परेका थिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको अध्ययन अनुसार थलारा गाउँपालिका विपद्को उच्च जोखिममा छ । गत वर्ष प्राधिकरणले गरेको अध्ययनले बझाङको थलारा र केदारस्यूँ गाउँपालिकाका ६० वटा गाउँ पहिरो रहेको र पहिरोका कारण यहाँका १९०० परिवार उच्च जोखिममा रहेको पाएको थियो ।