बझाङ – बझाङको उरै भञ्जाङ नाका हुँदै तिब्बतको ताक्लाकोट जानका लागि जिल्ला प्रशासन कार्यालय बझाङले चीन प्रवेश अनुमतिपत्र जारी गर्न थालेको छ । गत बैशाखयता ५७ जनाले चीन प्रवेश गर्ने अनुमति पत्र लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय उत्पादनको व्यापार गर्नको लागि ताक्लाकोट जाने चाहाने बझाङका बासिन्दालाई सिमावर्ती चीनको पुलाङ काउन्टीले समूहगत प्रवेश दिने जानकारी दिएकोले सोही अनुसार प्रवेश अनुमति जारी गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । अनुमति लिनेहरुमा ३१ जनाले पहिला नै जारी गरेको अनुमति नवीकरण गराएको र २६ जनाले नयाँले अनुमती लिएका हुन् ।
प्रशासनले एकवर्षको अवधि हुने गरी अनुमति पत्र जारी गर्दै आएको छ । समूहगत रुपमा बझाङका नागरिकलाई व्यापारिक प्रयोजनको लागि चीन प्रवेश गराउने कामको सहजीकरण चीन साग सीमा जोडिएको साइपाल गाउँ पालिकाले गरिरहेको छ । साइपाल गाउँपालिकाले एक सूचना जारी गर्दै व्यापारिक उद्देश्यले चीन प्रवेश गर्न चाहानेहरुलाई आफूसँग बिक्रीको लागि लैजाने सामानको विवरण, जिल्ला प्रशाशन कार्यालयले जारी गरेको प्रवेश अनुमति पत्र र नागरिकतासहित साउन ५ गतेसम्म गाउँपालिकामा सम्पर्क गर्न भनेको छ ।


‘पहिला जस्तो एक्लै दुक्लै मान्छे नपठाउनु, आउने भए जति सक्दो ठूलो ग्रुपमा मात्रै आउनु भन्ने जानकारी उता (तिब्बत)बाट आएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराले भने, ‘त्यसैले एक्लै जाँदा कसैले पनि समस्या भोग्न नपरोस भनेर हामीले सबैलाई समूहमा पठाउनका लागि सहजीकरण गरिहेका छौं ।’
पालिकाले तोकिएको मितिभित्र सम्पर्कमा आएकाहरुलाई चीन सरकारको बदलिएको नियम, त्यहाँ गर्न मिल्ने र नमिल्ने कामको बारेमा अभिमुखिकरण गरेर सबैलाई एकै दिन पठाउने तयारी भइरहेको उनले बताए ।
बझाङका स्थानीय बासिन्दाहरूको उरै नाका हुँदै चीनको तिब्बतमा रहेको ताक्लाकोटसाग परापूर्वकालदेखि नै व्यापारिक सम्बन्ध रहेको छ । बझाङबाट हिमाली क्षेत्रमा पाइने जडीबुटी, काठ, कृषि तथा पशुजन्य उत्पादनहरू ताक्लाकोटमा लगेर बेच्ने गर्छन् । विभिन्न जडीबुटीहरू, निगालोबाट बनेको डोको, टोकरी आदी हस्तकलाका सामग्रीहरू र काठका परम्परागत भाँडाकुँडाहरू ताक्लाकोटमा बेच्दा मनग्ये मूल्य पाइने गरेको एक जना व्यापारी राम बोहराले बताए । बझाङबाट सामान लिएर असार, साउनमा तिब्बत जाने व्यापारीहरुले दुई तीन महिना उतै बसेर विभिन्न खालको अस्थायी प्रकृतिको काम पनि गर्ने गर्छन् । फर्किँदा चामल, मैदा, गहुँको पिठो, चियापत्ती मदिरा, तिब्बती नुन, लत्ताकपडा र जुत्ता, चिनियाँ ज्याकेट आदी खरिद गरेर ल्याउने गरेका छन् ।
















