डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

शुक्रबार बेलुकी राजबहादुर रावलको काठ र जस्तापाताले बनेको दुई कोठे, दुईतले टहराको भान्सा कोठामा खाना पकाउने क्रममा आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोबाइल लगायतका सामग्री जलेर अन्दाजी ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ।














