खाेज्नुहाेस

शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु

Image

कञ्चनपुर – नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्य तथा समन्वयमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ। मङ्गलबारदेखि सुरु गणना पाँच दिनसम्म सञ्चालन हुनेछ।

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या, आनीबानीका बारेमा अध्ययन गरिने सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए। उनका अनुसार सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सुनौलो तोप चराको गणना हुँदै आएको छ।

attariya hospital
navjiwan hospital

“सुनौलो तोप चरा नेपालका तराई क्षेत्रमा मात्र पाइने विश्वकै दुर्लभ चरा हो”, उनले भने, “यस चरालाई प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) को रातो सूचीमा सङ्कटापन्न अवस्थामा राखिएको छ, यसको प्रजनन अवधि मेदेखि सेप्टेम्बर महिनासम्म रहने गर्दछ।”

नेपालमा तोपचराका नेपाल छातीकाले तोप चरा, धर्के तोप चरा, बया तोप चरा र सुनौलो तोप चरा गरी चार प्रजाति पाइन्छन्। तीमध्ये सुनौलो तोप चरा संरक्षणका दृष्टिले अत्यन्तै संवेदनशील मानिन्छ। यस चराको मुख्य बासस्थान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशाल घाँसेमैदान हो। तराईका प्राकृतिक घाँसेमैदानको विनाश, वासस्थानको सङ्कुचन तथा मानवीय गतिविधिका कारण यसको सङ्ख्या निरन्तर घट्दै गएको चराविज्ञ डगौरा बताउँछन्।

निकुञ्जमा गणनाका क्रममा सन् २०२२ मा २४८, सन् २०२३ मा २११ र सन् २०२५ मा १८४ वटा सुनौलो तोप चरा फेला परेका थिए। यसले पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो क्रममा रहेको देखाउँछ।