धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानको कुल अनुमानित मूल्य १ लाख ५८ हजार ३ सय रुपैयाँ रहेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ जोख्खरताल नजिक तथा भजनी नगरपालिका–२ गौनहियाबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ७ हजार ६ सय रुपैयाँ बराबरका बिडी, मोबाइल ग्लास, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अन्दाजी ५० हजार ७ सय रुपैयाँ बराबरका मोबाइल कभर, सुट कपडालगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सामान नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।
















