धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको नेतृत्व चयन सम्पन्न भएको छ । प्रदेश अधिवेशनबाट प्रकाश बिष्ट सभापतिमा निर्वाचित भएका छन् । बिष्टको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति चयन भएसँगै अन्य पदाधिकारीहरूको समेत टुंगो लागेको हो ।

निर्वाचन परिणामअनुसार प्रदेश उपसभापतिमा भोजराज जोशी (क्वालिटी) निर्वाचित भएका छन् । त्यसैगरी महामन्त्री पदमा सन्तोष जोशी विजयी भएका छन् भने सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा गणेश बोहरा निर्वाचित भएका छन् भने प्रवक्ताको जिम्मेवारी तेज ठकुल्लाले प्राप्त गरेका छन् । नवनिर्वाचित पदाधिकारीहरूले पार्टीको संगठन विस्तार, नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदूरपश्चिममा रास्वपाको उपस्थितिलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले प्रदेशभर पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ । पार्टीको स्थापना कालदेखि नै सक्रिय रहँदै आएका नेता तथा कार्यकर्ताहरूको सहभागितामा सम्पन्न अधिवेशनले आगामी राजनीतिक रणनीति र संगठनात्मक योजनाबारे समेत छलफल गरेको बताइएको छ ।



















