बेलौरी – कञ्चनपुरका ५ वटा विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ। सोमबारदेखि बेलौरीको उग्रतारा बाल विद्यालय सहितको ५ वटा विद्यालयमा तालिम सुरु भएको हो ।
बेलौरीको उग्रतारा बाल विद्यालय, लालझाडी गाउँपालिकाको भानु माध्यमिक विद्यालय, पुनर्वास नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालय तथा भीमदत्त नगरपालिकाका लिटिल स्टार पब्लिक माध्यमिक विद्यालय र सनराइज पब्लिक सेकेन्डरी स्कुलमा तालिम सञ्चालन भइरहेको छ।


तालिममा १५० जना विद्यार्थीहरुले तालिम लिइरहेको बराहदल गुल्म भगतपुर ब्यारेकका सेनानी अशोक शाहीले जानकारी दिए । उनका अनुसार तालिम १ सय दिनको रहने छ । जसमा ७९ दिन विद्यालयमा तालिम हुने छ भने बाकी २१ दिन कोहलपुरमा विशेष प्रशिक्षण सञ्चालन गरिने छ ।
अनुशासित, बफादार, देशभक्त, आत्मविश्वासी तथा नेतृत्व क्षमतायुक्त नागरिक तयार गर्न नेपाली सेनाले वि स २०२६ सालदेखी यो तालिम दिइरहेको सेनानी शाहीले बताए । उनका अनुसार तालिममा विद्यार्थीहरुलाई व्यावहारिक र जीवन उपयोगी सीपहरू प्रदान गरिने छ् । तालिममा शारीरिक व्यायाम, खुकुरी ड्रिल, सैनिक कला, हाइकिङ, एरोबिक्स, मास पिटी, म्याप रिडिङ लगायतका गतिविधिहरू गरिन्छ ।
नेपाली सेनाले एनसीसीलाई जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन गर्दै आएको छ । कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई जुनियर डिभिजन र कक्षा ११ तथा १२ का विद्यार्थीहरूलाई सिनियर डिभिजन अन्तर्गत प्रशिक्षण दिइन्छ । सिनियर डिभिजनमा विद्यार्थीहरूलाई हतियार सञ्चालनसम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिने छ ।

















