सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा जारी यू–१९ राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार वीरेन्द्रनगर मैदानमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो । लुम्बिनीका निम्ति ओपनर अञ्जी पाठकले ७६ र आशना चौधरीले २४ रन जोडे । अरू ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

जवाफमा सुदूरपश्चिमका ओपनरले उत्कृष्ट प्रदर्शन गर्दै १३२ रनको साझेदारी गरे । सुदूरपश्चिमकी सावित्री धामीले ७६ रनको अविजित पारी खेलिन् । करुणा विष्टले ४५ रन बनाइन् ।
सुदूरपश्चिमले यसअघि कोसी र वाग्मती प्रदेशलाई हराएको थियो । सुदूरपश्चिमले लगातार तेस्रो जितसँगै ६ अंक जोडेको छ । सुदूरपश्चिमले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । मधेस पनि लगातार दुई जितपछि उपाधि होडमा मजबुत देखिएको छ ।



















