काठमाडौं – देशका विभिन्न क्षेत्रमा तापक्रम बढ्दै जाँदा तापलहर (लू) को जोखिम समेत बढ्न थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै गर्मीजन्य स्वास्थ्य समस्याबाट बच्न पूर्वतयारी गर्न सुझाव दिएको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मनसुन सुरु भएसँगै केही क्षेत्रमा तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी तराईका जिल्लामा तापलहरको जोखिम बढी रहने भएकाले सम्बन्धित निकायहरूसँग समन्वय गरेर जोखिम न्यूनीकरणका कार्यक्रम अघि बढाइएको उनले बताए।

उनले अत्यधिक गर्मी हुने दिउँसोको समयमा बाहिरी गतिविधि सकेसम्म कम गर्न र बिहान वा साँझको समयमा कामकाज गर्न आग्रह गरेका छन्। पर्याप्त मात्रामा पानी पिउने, झोलिलो तथा पौष्टिक खानेकुरा खाने र आवश्यक आराम गर्ने बानीले तापलहरबाट बच्न सहयोग पुग्ने उनको भनाइ छ।
डा. अधिकारीका अनुसार तापलहरको असर तत्काल मात्र नभई दीर्घकालीन रूपमा आँखा र छालामा समेत पर्न सक्छ। उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन तथा स्वास्थ्यमा असामान्य समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन उनले आग्रह गरेका छन्।
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरबाट सबैभन्दा बढी प्रभावित हुन सक्ने समूह भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक रहेको मन्त्रालयले जनाएको छ। धूम्रपान र मद्यपानबाट टाढा रहने, शरीरमा पानीको मात्रा सन्तुलित राख्ने तथा नियमित स्वास्थ्य निगरानी गर्ने उपाय अपनाउन पनि मन्त्रालयले सुझाव दिएको छ।
‘लू’ भनेको के हो ?

तापलहर वा ‘लू’ भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो। सामान्य अवस्थाभन्दा तापक्रम उल्लेखनीय रूपमा बढेपछि कुनै क्षेत्रलाई तापलहर प्रभावित क्षेत्र मानिन्छ। उच्च तापक्रमसँगै आर्द्रता बढ्दा यसको प्रभाव अझ गम्भीर बन्न सक्छ।
जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले पछिल्ला वर्षहरूमा तापलहरको जोखिम बढ्दो क्रममा रहेको विज्ञहरू बताउँछन्। यसले शरीरमा पानीको कमी, हिटस्ट्रोक तथा मुटुसम्बन्धी समस्या निम्त्याउन सक्छ।
किन बढ्दै छ तापलहर ?
- जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि
- अव्यवस्थित सहरीकरण
- कंक्रिट संरचनाको विस्तार
- वन फँडानी र हरियालीको कमी
- वातावरणीय प्रदूषण
लू लाग्दा देखिने प्रमुख लक्षण
- अत्यधिक तिर्खा लाग्ने र मुख सुक्ने
- धेरै पसिना आउने
- कमजोरी तथा थकान महसुस हुने
- रिँगटा लाग्ने
- मुटुको धड्कन असामान्य रूपमा बढ्ने
- शरीरको तापक्रम अत्यधिक बढ्ने
- अन्योल हुने वा बेहोस हुने
तापलहरबाट कसरी बच्ने ?
- दिउँसोको चर्को घाममा बाहिर ननिस्कने
- हल्का, खुकुलो र उज्याला रङका कपडा लगाउने
- छायाँ वा चिसो स्थानमा बस्ने
- प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्ने
- अत्यधिक शारीरिक श्रम नगर्ने
- पौष्टिक र हल्का खाना खाने
- रक्तचाप तथा मधुमेहको नियमित निगरानी गर्ने
- चिकित्सकले दिएको औषधि नियमित सेवन गर्ने


















