अत्तरिया – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले आइतबार धनगढीमा प्रदेश स्तरीय भेला आयोजना गरेको छ । नेपाली कांग्रेसको बृहत्तर एकता पुनर्जागरणका लागि आयोजना गरिएको भेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेर बहादुर देउवाको सम्मानमा जोड दिइएको छ । भेलामा बोल्ने अधिकांश वक्ताहरूले देउवाको उचित सम्मान हुनुपर्ने बताएका थिए ।
भेलामा बोल्दै पूर्व केन्द्रीय सदस्य एनपी साउँदले शेर बहादुर देउवाको मुलुकमा गरिमा घटोस्, चोट पुगोस् भनेर सुदूरपश्चिमले कल्पना पनि गर्न नसक्ने बताए । उनले शेर बहादुर देउवाले नागरिकका अधिकार, जनताका अधिकारका लागि आफ्नो जीवन बिताएको बताउँदै यस्ता व्यक्तिको जीवनमा आघात पुगेको सुदूरपश्चिमले कल्पना पनि गर्न नसक्ने बताए ।

उनले शेर बहादुर माथि अहिलेको सरकारले पनि रेड कर्न नोटिस जारी गरेर अपमान गरेको बताए । ‘रेड कर्म नोटिस जारी गरिए पनि त्यसको आधार नपुगेको इन्टरपोलले भनेको छ’ उनले भने ‘यस विषयमा अदालतमा पनि मुद्दा परेकाले यसको टुङ्गो लाग्ने नै छ ।’ उनले पार्टीको विशेष अधिवेशनमा गएका र नगएका बिच विभेद नगर्न पार्टी सभापति गगन थापा सँग आग्रह गरे । उनले क्रियाशील सदस्यका बारेमा पनि थप विवाद नगर्न आग्रह गर्दै १५ औँ महाधिवेशनको लागि निर्वाचन समिति निपक्ष हुनुपर्ने बताए ।

भेलामा बोल्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य रमेश लेखकले कार्यक्रममा देउवाको अभाव खड्किएको बताए । ‘शेरबहादुर देउवाले आफ्नो युवा अवस्था देखि यो देशको लोकतान्त्रिक आन्दोलनका लागि अथक रूपले काम गर्नु भयो देशमा एउटा विशिष्ट पहिचान निर्माण गरेर लोकतन्त्रका निमित्त वहाँको महत्वपूर्ण भूमिका रह्यो’ उनले भने ‘त्यसैले वहाँको जीवनमा कुनै पनि किसिमको असम्मान हुन नसकोस्, वहाँको राजनीति एउटा सम्मानपूर्वक अगाडी व्यथित हुन सकोस् । वहाँको राज्यबाट उचित सम्मान होस भन्ने भेलको उद्देश्य हो ।’

कार्यक्रममा बोल्दै कांग्रेस सुदूरपश्चिम सभापति वीर बहादुर बलायरले शेर बहादुर देउवाको घरमा पैसा भेटिएको भन्दै भ्रम सिर्जना गरिएको बताउँदै यस्तो भ्रम छर्नेमा कांग्रसकै नेताको अग्रसरता रहेको बताए । उनले शेर बहादुर देउवालाई अन्तर्राष्ट्रिय शक्तिले पनि हटाउन खोजेको बताए ।
नौ वटै जिल्लाका नेता कार्यकर्ताको सहभागिता रहेको भेलाले ११ बुँदे घोषणा गरेको छ । जसमा निवर्तमान सभापति देउवामाथि विगतमा लगाइएका आरोप–प्रत्यारोप तथा त्यसले पार्टी संगठनमा पारेको प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख छ ।
कांग्रेस सुदूरपश्चिमका महामन्त्री मेघ राज खड्काले घोषणा पत्रमा पार्टी एकता, आन्तरिक समन्वय र १५ औँ महाधिवेशन, निर्वाचन परिणाम र नेतृत्वप्रतिको जनधारणा, पार्टीको इतिहास, योगदान र वर्तमान अवस्थाबारे समीक्षा, संविधान, लोकतन्त्र, सुशासन र वर्तमान सरकार सम्बन्धी विषय, क्रियाशील सदस्यता अद्यावधिक र संगठन सुदृढिकरण बुँदा समेटिएको बताए ।
यस्तै सशक्त प्रतिपक्षको भूमिका, निर्वाचित पदाधिकारीहरूको पद तथा विधानले निर्धारण गरेका जिम्मेवारी खोस्ने कार्य अस्वीकार्य, नेपाली कांग्रेसमा एकता कायम गर्न पहिलो व्यक्तिमै लचकता हुने परम्परा, नेपाली कांग्रेसको विधान संशोधन सम्बन्धी विषय, बाजुरा जिल्लाको रानीसैन क्षेत्र सम्बन्धी विषय र देउवा दम्पतीको स्वास्थ्य लाभको कामना गरिएको महामन्त्री खड्काले बताए ।
प्रदेश सभापति वीरबहादुर बलायरले अध्यक्षता गरेको भेलामा पूर्व केन्द्रीय सदस्य एनपी साउँद प्रमुख अतिथि रहेका थिए ।

भेलामा पूर्व केन्द्रीय सदस्य रमेश लेखक, मोहन बस्नेत, कुन्दन काफ्लेलगायत सुदूरपश्चिम प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने देउवा समूहका सम्पूर्ण नेताहरुको उपस्थिति रहेको थियो । भेलामा जनप्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री कमल कमल शाह पनि सहभागि थिए ।
कांग्रेसको सस्थापन पक्षले केहिदिन अघि पनि सुदूरपश्चिम प्रदेश स्तरिय भेला आयोजना गरेको थियो । जसमा काँग्रेस केन्द्रीय सभापति गगन थापा प्रमुख अतिथि रहेका थिए ।

















