खाेज्नुहाेस

भारतमा चोरिएको गरगहना र नगद २ करोड १० लाख बरामद

Image

धनगढी – सुदूरपश्चिम प्रहरीले भारतमा चोरी गरिएको ठूलो मात्राको गरगहना र नगद बरामद गरेको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुुक्त टोलीले लामो अनुसन्धानपछि भारतको दिल्लीमा भएको चोरीको घटनामा सफलता हात पारेको हो । प्रहरीले हिरा, मोती, सुनचाँदीका गरगहना, विभिन्न कम्पनीका घडी, नेपालसहित विभिन्न देशका मुद्रा समेत गरेर दुई करोड १० लाख बढि मूल्य बराबरको सामान बरामद गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार भारतको दिल्लीको राजेन्द्रनगरका संजयकुमार माखीजाको घरमा फागुन १३ गते चोरी भएको थियो । माखीजाको घरमा काम गर्ने बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतको समूहले चोरी गरेको खुलेपछि भारतीय प्रहरीमार्फत नेपाल प्रहरीमा उजुरी दिएका थिए । सोही आधारमा छानबिन गर्ने क्रममा प्रहरीले रावतसहितका तीन जनालाई पक्राउ गरेको थियो ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा बाजुराकै खप्तडछेडेदह गाउँपालिका–३ का लोकेश धामी र चोरी भएको धनमाल खरिद गर्ने अछामको साफेबगर नगरपालिका–४ का अर्जुन सुनार रहेको प्रहरीले जनाएको छ । तीनै जना पक्राउ परेपछि उनीहरुको साथबाट गरगहनासहित दुई करोड ७ लाख बरामद गरिएको थियो । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक(डीआईजी) ओमबहादुर रानाले अप्रेसनका क्रममा उनीहरुको साथबाट चोरी गरिएका नेपाली रुपैयाँ एक करोड ३४ लाख पर्ने १२ वटा घडी, ४३ लाख ३३ हजार १४५ बराबरको विभिन्न सुनका गरगहना, १५ लाख ५६ हजार बराबरको हिरा र सुनका रिङ, दुई लाख १५ हजार ५३० का चाँदीका गरगहना तथा तीन लाख बराबरको सुन बरामद गरिएको बताए ।

यस्तै, १२ लाख ९० हजार नेपाली रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरिएको रानाले जानकारी दिए । बरामद गरिएको नगद र विभिन्न देशका मुद्रा सम्बन्धीत व्यक्तिलाई बुझाइएको छ । भारतीय दुतावासमार्फत नेपाली प्रतिनिधिसहित पीडित पक्ष प्रहरीले बरामद गरेको सामान बुझ्न शुक्रबार कैलाली पुुगेका थिए । जिल्ला प्रहरी कार्यालयमार्फत सामान सम्बन्धित व्यक्तिलाई बुुझाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्र चन्दले संयुक्त अप्रेसनका क्रममा बरामद गरिएको गरगहना र नगदसहितको सामान जनप्रतिनिधि समेतको रहोबरमा सम्बन्धीत धनीलाई बुझाइएको जानकारी दिए । उनकाअनुसार चोरिएको सामान प्रहरीमार्फत फिर्ता पाएपछि भारतीय नागरिक संजयकुमार माखीजाले नेपाल प्रहरीको कार्यको प्रसंशा गरेका छन् । ‘मेरो घरबाट हराएको मध्येको केही सामान अझै फेला परेको छैन । नेपाल प्रहरीको सहयोगले पाउनेछु भन्ने आशा गरेको छु,’ माखीजाले भनेका छन्, ‘सक्रिय पूर्वक चोरिएको सामान बरामद गर्न भूमिका खेल्नुुहुने सबै नेपाल प्रहरीलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।’

प्रहरीकाअनुसार माखीजाको घरबाट चोरी भएको सबै सामान भने फेला पर्न सकेको छैन् । पक्राउ परेका व्यक्तिले अन्य सामान अर्र्कै व्यक्तिले लगेको दाबी गरेपनि उनीहरुले नाम पोलेका व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय भारतमा घरेलु कामदारका रुपमा जाने र घर मालिकलाई विश्वासमा पारेर गरगहना र नगद चोरी गरेर ल्याउने प्रचलन बढ्दै गएको छ । तर स्पष्ट कानुनको अभावमा सार्वजनिक मुद्दा चलाउने बाहेक थप कारवाही गर्न सकिने अवस्था नदेखिएको प्रहरीले बताउँदै आएको छ ।