अत्तरिया – कञ्चनपुर र कैलालीमा प्रहरीले अवैध लागूऔषध सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका–४ भगतपुर बस्ने २७ वर्षीय विद्यान बिष्ट सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अंकित धामी सहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
















