अत्तरिया – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ र राति गरिएको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट मोडबाट २ ग्राम २३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित १९ वर्षीय लक्ष्मण राना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ ।

त्यसैगरी, भजनी नगरपालिका–३ कुसुमघाटबाट ७९० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २८ वर्षीय शिव कामी र १७ वर्षीय एक किशोर रहेका छन् । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले जाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, भजनी नगरपालिका–८ काँडाबाट जानकी गाउँपालिका–२ बस्ने २९ वर्षीय दिपक दमाई पक्राउ परेका छन् । शंकास्पद रूपमा पैदल हिँडिरहेका उनलाई प्रहरीले जाँच गर्दा १ ग्राम १२० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ फेला पारेको जनाएको छ ।
उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरियामा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा गरिएको खानतलासीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय फुलचरण राना र २७ वर्षीय हरिस राना रहेका छन् ।
प्रहरीका अनुसार फुलचरण रानाको घरबाट ८ ग्राम ८७० मिलिग्राम तथा हरिस रानाको घरबाट ६५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थ बरामद गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र इलाका प्रहरी कार्यालय रैकवारको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


















