धनगढी – १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ को उपाधि धनगढी उपमहानगरपालिकाले जितेको छ । जेठ १ गतेदेखि बर्दगोरिया गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कास्यसहित कुल ५२ पदक जितेर समग्र च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगिताभर धनगढीका खेलाडीहरूले विभिन्न विधामा प्रभावशाली प्रदर्शन गर्दै अन्य स्थानीय तहलाई पछि पारेका थिए ।
प्रतियोगितामा घोडाघोडी नगरपालिकाले १९ स्वर्ण, ९ रजत र १९ कास्यसहित ४७ पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै, गोदावरी नगरपालिकाले ७ स्वर्ण, २४ रजत र १६ कास्य गरी ४७ पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ ।


लम्कीचुहा नगरपालिकाले ४ स्वर्ण, ५ रजत र ४ कास्यसहित १३ पदक जित्दै चौथो स्थान सुरक्षित गर्दा टिकापुर नगरपालिकाले २ स्वर्ण, २ रजत र १२ कास्यसहित १६ पदक जितेर पाँचौँ स्थान हासिल गरेको छ । गौरिगङ्गा नगरपालिकाले २ स्वर्ण, १ रजत र १२ कास्य गरी १५ पदक जित्दा भजनी नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्यसहित ५ पदक हात पारेको छ ।
कैलालीका सबै नगरपालिकाले कम्तीमा एक स्वर्ण पदक जित्न सफल भएका छन् । गाउँपालिकातर्फ भने मोहन्याल गाउँपालिकाले मात्र १ स्वर्ण, २ रजत र २ कास्यसहित ५ पदक जित्दै उल्लेखनीय प्रदर्शन गरेको छ । बर्दगोरिया, चुरे, कैलारी, जोशीपुर र जानकी गाउँपालिकाले भने स्वर्ण पदक जित्न सकेनन् । समापन समारोह कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश भण्डारीको सभापतित्व तथा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका कार्यालय प्रमुख आशाराम केसीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नं. १ का अध्यक्ष मिथुन गौतम, भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टलगायत विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन केशव बडुवालले गरेका थिए । जिल्लाभरका विभिन्न स्थानीय तहबाट सहभागी विद्यार्थी खेलाडीहरूको प्रतिस्पर्धाले खेलकुद प्रतिभा प्रस्फुटनसँगै आपसी सद्भाव, अनुशासन र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ ।
यसैबीच, आगामी १७ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गोदावरी नगरपालिकाले गर्ने भएको छ । समापन समारोहमा गोदावरी नगरपालिकाले प्रतियोगिताको झण्डा ग्रहण गर्दै अर्को संस्करण भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।



















