काठमाडौँ – विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। जितसँगै नेपालले अंक तालिकामा दुई स्थान सुधार गर्दै अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्यान्डले दिएको १ सय ९४ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले ७४ रनको अर्धशतकीय अविजित इनिङ्स खेले। उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा १२ औँ अर्धशतकसमेत हो।
त्यस्तै, इशान पाण्डेले ५५ रनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतकीय इनिङ्स खेल्दा ओपनर कुशल भुर्तेलले २८ रन तथा आसिफ शेखले २९ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५८ रनको साझेदारी भयो। अर्कोतर्फ रोहित र इशानले तेस्रो विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ अगाडि बढाएका थिए।

त्यसअघि स्कटल्यान्डसमक्ष कसिलो बलिङ गरेको नेपालले पाहुना टोलीलाई ३९.१ ओभरमा १ सय ९४ रनमा अलआउट गराएको थियो। पुरै ओभर खेल्न नपाएका स्कटिस ब्याटरविरुद्ध नेपाली बलरहरूले कसिलो बलिङ गर्दै तुलनात्मक रुपमा कमजोर योगफलमा समेट्न सफल भए।

यसअघि पहिलो खेल वर्षाले प्रभावित बनाउँदा नेपाल सक्टल्यान्डसँग डिएल म्याथोडमा २ रनले पराजित भएको थियो। तर आज नेपाल बलरसामु स्कटल्यान्डका ब्याटर संघर्षमा परे।
स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रन बनाउनु सर्वाधिक रह्यो। उनले ४४ बलमा समान ६ चौकार छक्का प्रहार गरेका थिए। उनीबाहेक माइल इंग्लिस ७२ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले। उनी नेपाली बलरको अन्तिम सिकार बने। टिमका लागि थप दोहोरो स्कोरका रुपमा मार्क वाटले २० रन बनाए। त्यस्तै, ओपनर जर्ज मुन्सेले २१ रन बनाउनुबाहेक अन्यको प्रदर्शन गतिलो रहेन।
नेपालका लागि ललित राजवंशीले ४ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान १-१ विकेट हात पारे।
जारी सिरिजमा स्कटल्यान्ड अपराजित रहँदै सुरुवाती दुवै खेलमा जित निकालेको थियो। उसको यो जारी सिरिजमा पहिलो हार हो। नेपालले भने पहिलो खेलमा स्कटल्यान्डसँग हार भोग्दा दोस्रो खेलमा अमेरिकालाई फराकिलो अन्तरले पराजित गरेको थियो। यो नेपालको लगातार दोस्रो जित हो।
जारी विश्वकप लिग २ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदा अमेरिका दोस्रोमा रहेको छ। नेपाल यो जितपछि अंकतालिकामा २७ खेलबाट २२ अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ।



















